खेल

एक खेलअगावै एपिएफ र न्यु डायमन्ड फाइनलमा

विभागीय टोली एपिएफ र न्यु डायमन्ड युथ स्पाेट्स  क्लब राजधानीमा जारी छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एक खेलअगावै फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध बनाएसँगै यी दुईले फाइनलमा स्थान बनाएका हुन्। यद्यपि दुवै टोलीमध्ये समूहविजेताको टुङ्गो लाग्न बाँकी छ।

फाइनलमा एपिएफसँगको भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो।डायमन्डको जितले एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो। सो क्रममा पहिलो सेट डायमन्डले २२–२५ ले गुमाउन पुगेको थियो। सुरुदेखि नै पछि परेको डायमन्डले पुनरागमनको प्रयास गरे पनि असफल भएको थियो।त्यसपछिका सेटमा भने डायमन्डले राम्रो प्रदर्शन गर्‍याे। दोस्रो सेटमा डायमन्डले २५–१५ को सहज जित निकाल्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो।तेस्रो सेटमा १०–१६ ले पछि रहेको डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को रोमाञ्चक जित निकाल्दा चौथो सेटमा पनि सहज जित निकाल्यो। चौथो सेटमा सुरुदेखि नै अग्रता लिँदै अगाडि बढेको डायमन्डले २५–१९ को सहज जित निकाल्न सफल भयो। डायमन्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भइन्। जितसँगै डायमन्डको २ खेलबाट ६ अंक पुगेको छ।पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन।एपिएफको पनि ६ अंक छ।पुलिस र आर्मीले दुई खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेका छैनन् ।

प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा एपिएफले आर्मीलाई साझो सेटमा स्तब्ध बनायो।पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो। प्रतियोगितामा सोमबार लिग चरणका अन्तिम प्रतिस्पर्धा हुँदै छन्। पहिलो खेलमा एपिएफ र डायमन्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछन् ।

शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा चार टोलीको मात्र सहभागिता रहेको छ।मंगलबारसम्म हुने प्रतियोगिताको विजेताले नगद तीन लाख उपविजेताले एक लाख ५० हजार रूपैयाँ पाउनेछन् ।

 

प्रकाशित: २३ माघ २०७९ ०२:३० सोमबार