खेल

राजनीतिका कारण १० वर्षको मिहिनेत खरानी: अन्जिला

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले राजनीतिका कारण १० वर्षको मिहिनेत खरानी भएको प्रतिक्रिया दिएका छन्।

गोलकिपर अञ्जिलाले सामाजिक सञ्जालमार्फत राजनीतिले गर्दा आफूहरूले गरेको मिहिनेत खेर गएको उल्लेख गर्दै नेपाली फुटबलको सरोकारवालाप्रति आक्रोश व्यक्त गरेकी हुन्। अर्ली इलेक्सनको प्रयासपछि अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तीन महिनाको निलम्बनमा छ। निलम्बनका कारण अहिले नेपाली फुटबलको घरेलु लिगसँगै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि प्रभावित हुन पुग्यो। पुरुष राष्ट्रिय लिग र सहिद स्मारक महिला लिग स्थगित हुनुका साथै नेपाली महिला टोलीले खेल्ने फिफा सिरिजबाट पनि वञ्चित हुनुपर्‍यो। यससँगै नेपाली महिला टोलीकी पूर्वकप्तान तथा गोलकिपर अन्जिलाले उक्त दुखेसो व्यक्त गरेकी हुन्।

नेपालले थाइल्यान्डमा अप्रिल तेस्रो साता फिफा सिरिजमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग खेल्ने तालिका थियो। अहिले इन्डोनेसियाले नेपाललाई प्रतिस्थापन गरेको छ।

एन्फाको सत्तामा पुग्ने आन्तरिक विवादका कारण नेपाली महिला फुटबल टोलीले महत्त्वपूर्ण प्रतियोगिता फिफा सिरिज गुमाउनुपरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा राम्रो आशा जगाइरहेको नेपाली महिला टोलीले मैत्रीपूर्ण खेल गुमाएपछि पूर्वकप्तान अन्जिलाले दुखेसो पोखेकी छन्। खेलाडीहरूको वर्षौंको मिहिनेत, संघर्ष र त्यागबाट बनाएको उपलब्धि राजनीतिक स्वार्थले नष्ट पारेको अन्जिलाले आरोप लगाएकी छन्। अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनु खेलाडीका लागि ठूलो पीडा भएको उनले पोस्ट गरेकी छन्।

साथै उनले खेल क्षेत्रमा भइरहेको हस्तक्षेप रोक्न पनि आग्रह गरेकी छन्। राखेपले निलम्बन गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नसकिने अवस्था सिर्जना भएकाले बाध्यतावश फिफालाई पत्राचार गरेको एन्फाको दाबी छ। ‘एक दशकमा एउटा खेलाडीले मैदानमा के मात्र सहदैन? घाम, पानी, चोटपटक र अभाव। एउटा एउटा इँटा थपेर घर बनाएझैं नेपाली महिला फुटबल टोलीले आफ्नो साख र सफलता बनाएको थियो तर आज? १० वर्षको त्यो कडा मेहनतलाई खरानी बनाउन तपाईंहरूको स्वार्थ र राजनीतिलाई १० मिनेट पनि लागेन,’ उनले सामाजिक सञ्जालमा राखेकी छन्।

अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्वजस्तै रहेको उनले उल्लेख गरेकी छन्। ‘एउटा सपनाको शिखर हो तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रा अवसर खोसिन्छ। तब त्यो पीडा कस्तो हुन्छ। के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ? तपाईंहरू त केबल ’न्यूज’ पढ्नुहुन्छ र अफसोस’ मान्नुहुन्छ तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ। त्यो हामीलाई मात्र थाहा छ,’ अञ्न्लिाले नेपाली फुटबलको सत्तामा पुग्न घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता प्रभावित गरेका सरोकारवालाप्रति प्रश्न गरेकी छन्।  

एन्फाले सहिद स्मारक महिला लिग सुरु गरेको दोस्रो दिनमा नै प्रभावित हुन पुगेको थियो। विदेशी खेलाडीको श्रम स्वीकृति र राखेपबाट प्रतियोगिता आयोजनाका लागि स्वीकृति हुन नसक्दा राष्ट्रिय लिग प्रभावित भएको थियो। राखेपले एन्फामाथि निलम्बन पनि गरेपछि महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट पनि वञ्चित हुन पुग्यो।

‘तपाईंहरूले आफ्नो स्वार्थ जोगाउनुभयो होला तर भोलि आउने पुस्तालाई के जवाफ दिनुहुन्छ? नयाँ आउने बहिनीहरूले कुन सपना बोकेर मैदानमा आउने? जब यहाँ खेलाडीको भविष्यमाथि नै खेलबाड हुन्छ भने कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्ने?,’ अञ्जिलाको प्रश्न छ, ‘खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस्। हामी देशको लागि खेल्न चाहन्छौं। तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्।’

प्रकाशित: २१ चैत्र २०८२ ०८:२९ शनिबार