खेल

१० ओभर: कर्णालीको सुस्त प्रदर्शन, २ विकेट गुमाएर ४८ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले १० ओभरको समाप्तिमा सुस्त प्रदर्शन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले १० ओभर सम्ममा २ विकेट गुमाएर ४८ रन बनाएको छ। कर्णालीको रनरेट हाल ४.८० रहेको छ।

कर्णालीले इनिङ्सको तेस्रो ओभरमै ओपनर मार्क वाटलाई गुमाएको थियो। वाट ४ रन बनाएर संगीत कोरेको बलमा एलबीडब्लु आउट भए।

त्यसपछि केही सम्हालिएको इनिङ्स खेलेका प्रियंक पञ्चाल पनि छैटौं ओभरमा १६ रन बनाएर ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे।

हाल क्रिजमा इमरान शेख र गुल्सन झा ब्याटिङ गरिरहेका छन्। इमरान २१ बलमा १४ रन र गुल्सन १४ बलमा १ छक्कासहित १४ रन बनाएर अविजित छन्।

जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दै कर्णालीलाई खुलेर खेल्ने मौका दिएका छैनन्। जनकपुरका लागि संगीत कोरे र ललित राजवंशीले १–१ विकेट लिएका छन्।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ। अंक तालिकाको पुछारमा रहेका यी दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका छन्।

जारी लिगमा ६ खेल खेलेका कर्णाली र जनकपुर दुवैको समान २–२ अंक मात्र छ। नेट रनरेटका आधारमा कर्णाली सातौं र जनकपुर आठौं (अन्तिम) स्थानमा छन्।

आजको खेल जित्ने टोलीले अन्तिम स्थानमा रहनबाट बच्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयास गर्नेछ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: २१ मंसिर २०८२ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App