खेल

१० ओभर: जनकपुर ६४ रनमै ५ विकेट गुमाएर संकटमा

क्याप्शन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा हुसेन तलत चम्किँदा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि चर्को दबाब सिर्जना गरेको छ।

जितका लागि पाएको १३३ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुरले १०.३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ६४ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरलाई अब जितका लागि ५७ बलमा ६९ रन आवश्यक छ। हाल प्रतिओभर आवश्यक रनरेट ७.२६ पुगेको छ। क्रिजमा जेम्स निसम ३ बलमा २ रन र कप्तान हरमीत सिंह ३ बलमा १ चौकासहित ५ रन बनाएर खेलिरहेका छन्।

जनकपुरलाई १०औं ओभरमा कर्णालीका हुसेन तलतले दोहोरो झट्का दिएका थिए। उनले ९.२ ओभरमा २२ बलमा १९ रन बनाएका अनुभवी अलराउन्डर मोइन अलीलाई आरिफुल इस्लामको हातबाट क्याच आउट गराए।

लगत्तै सोही ओभरको पाँचौं बलमा विष्फोटक ब्याट्सम्यान कुशल परेरालाई ६ रनमै विकेटकिपर दीपक डुम्रेको हातबाट क्याच गराएपछि जनकपुर ५७ रन जोड्दा ५ विकेटको नाजुक स्थितिमा पुगेको हो।

यसअघि जनकपुरले ओपनर त्रितराज दासलाई १ रन र मयान यादवलाई १४ रनमा गुमाएको थियो। सम्हालिएर खेलिरहेका ओपनर अनिल साह पनि १७ बलमा ११ रन जोडेर ६.५ ओभरमा ३७ रनको कुल स्कोर हुँदा नन्दन यादवको बलमा गुल्सन झाद्वारा क्याच आउट हुन पुगे।

कर्णालीका लागि हुसेन तलतले २ ओभरमा मात्र ९ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिएका छन्। यस्तै, कप्तान सोमपाल कामीले २ ओभरमा ५ रन दिएर १ विकेट र नन्दन यादवले २ ओभरमा १३ रन खर्चेर १ विकेट हात पारेका छन्। मार्क वाटले १ ओभरमा २ रन दिएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। जारी खेलमा कर्णालीका बलरहरूले जनकपुरका शीर्ष ब्याट्सम्यानहरूलाई पेभेलियन फर्काउँदै खेललाई निकै रोमाञ्चक मोडमा पुर्‍याएका छन्।

प्रकाशित: १० कार्तिक २०८३ २०:०२ मंगलबार