खेल

१० ओभर: धर्मरायो सुदूरको ब्याटिङ, ५३ रन बनाउँदा ४ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ प्रदर्शन गरेको छ।

टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले इनिङको आधा समय सकिँदा ४ महत्वपूर्ण विकेट गुमाएर मात्र ५३ रन जोडेको हो।

कीर्तिपुर मैदानमा कर्णालीका बलरहरूले कसिलो बलिङ गर्दै सुदूरपश्चिमलाई ठूलो स्कोर बनाउनबाट रोकेका छन्।

सुदूरपश्चिमले इनिङको पहिलो बलमै ओपनर जोस ब्राउनलाई गुमाएको थियो। त्यसपछि विनोद भण्डारी ११ रन बनाएर विपिन शर्माको बलमा एलबीडब्लु आउट भए।

सम्हालिएर खेलिरहेका विदेशी खेलाडी क्रिस लिन पनि १८ रन बनाएर युवराज खत्रीको बलमा क्याच आउट हुँदा सुदूरपश्चिम थप दबाबमा पर्‍यो। ईशान पाण्डे २ रन बनाएर रनआउट भए।

लगातार विकेट झरेपछि अहिले सुदूरपश्चिमको इनिङ उकास्ने जिम्मेवारी आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरीको काँधमा आएको छ।

१० ओभरको समाप्तिमा आरिफ शेख १८ रन र दीपेन्द्र सिंह ऐरी ४ रन बनाएर अविजित छन्।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिएका छन्।

प्रकाशित: ८ मंसिर २०८२ १७:०० सोमबार