समाज

पुल बगाएपछि त्रिशूलीमाथि जिपलाइन, गाउँ जोडिने आशामा स्थानीय

विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङका बासिन्दा तहसनहस भएको जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन्।

चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। त्रिशूली क्षेत्रमा मात्रै पानी, ढुंगा र गेग्रानसहितको भीषण बाढीले करिब तीन सय घरमा क्षति पुगेको छ। आफन्त गुमाएका परिवार शोकमा छन् भने केही स्थानीय अझै बेपत्ता छन्।

बाढीबाट ज्यान जोगाएकाहरूले घरका सामान, नगद तथा लत्ताकपडासमेत गुमाएका छन्। केही पसल सञ्चालकले केही मिनेटमै वर्षौंको कमाइ र पसलमा रहेका सम्पूर्ण सामान बाढीले बगाएको देख्नुपरेको चिनियाँ समाचार संस्था सीसीटीभीप्लसले जनाएको छ।

विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन्। कतिपय परिवार औषधि र खाद्यान्नको पहुँचबाट समेत वञ्चित छन् भने इन्धन आपूर्ति पनि प्रभावित भएको छ।

बाढीले त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि नदी वारिपारिका बस्तीबीचको सम्पर्क विच्छेद भएको छ। छुट्टिएका गाउँलाई पुनः जोड्न अहिले त्रिशूली नदीमाथि जिपलाइन निर्माणको काम भइरहेको छ। जिपलाइन सञ्चालनमा आएपछि स्थानीयको आवतजावत केही सहज हुन थालेको छ।

स्थानीय मैसिङ तामाङले जिपलाइन निर्माणले अवस्था सुधार हुने आशा व्यक्त गरे। उनले भने, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ।’

अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले जिपलाइनबाट तत्काल राहत मिलेको बताइन्। उनले भनिन्, ‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ।’

स्थानीय सुमन सिंहले पनि जिपलाइन सञ्चालनपछि गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरेका छन्।

उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेनाले अस्थायी पुल निर्माण गरी अवरुद्ध आवतजावत पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको छ। प्राविधिक टोली विद्युत् सेवा र टेलिफोन सम्पर्क पुनःस्थापित गर्न पनि खटिएको छ।

यद्यपि, ठूलो मात्रामा भौतिक संरचना तथा सम्पत्ति नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्काल सम्भव देखिँदैन। अहिलेका लागि बाढीपीडित स्थानीयको जनजीवनलाई सकेसम्म छिटो सामान्य अवस्थामा फर्काउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।

प्रकाशित: २१ भाद्र २०८३ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App