बारा प्रहरीले मंगलबार लागुऔषधका रूपमा प्रयोग हुने ट्रामाडोल १० हजार ३ सय ८० क्याप्सुलसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट लागुऔषध नेपाल ल्याउँदै गर्दा बिहारका मन्जन (उपेन्द्र) साह पक्राउ परेको प्रहरीले जनाएको छ। नेपाल–भारतबिच खुला सिमाना छ। यसको फाइदा लागुऔषध कारोबारीले उठाउँदै आएका छन्।
नेपाल प्रहरीअन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक हेर्दा लागुऔषधको कारोबार र सेवन निकै गम्भीर समस्या बनेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै लागुऔषधसम्बन्धी एक हजार एक सय ३२ थान मुद्दा दर्ता भएका छन् भने एक हजार ६ सय ७५ प्रतिवादी पक्राउ परेका छन्।
त्यस्तै ब्युरोले सोही अवधिमा विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ। १८ किलो नौ सय १९ ग्राम कोकिन, २५ किलो दुई सय ३७ ग्राम हेरोइन, २८ किलो अफिम, दुई सय ७२ ग्राम एम्फेटामाइन र तीन हजार दुई सय ५० किलो चरेस/गाँजा बरामद भएको ब्युरोको तथ्यांक छ। सोही अवधिमा थाइल्यान्डबाट तस्करी गरिएको थप दुई सय सात किलो गाँजासमेत बरामद भएको छ।
यसैगरी लागुऔषधतर्फ ५८ हजार ५७ एम्पुल, ट्रामाडोल १० लाख २८ हजार एक सय दुई क्याप्सुल, एक लाख १९ हजार नौ सय ८२ नाइट्रोभेट ट्याब्लेट, ४७ लिटर कोडिन (सिरप), आठ सय ५४ ग्राम इफ्रिड्रिन र १९१ पिस पिसिसएम पनि बरामद गरिएको ब्युरोले जनाएको छ।
यो तथ्यांक हेर्दा नेपालमा लागुऔषध कारोबार र यसको प्रयोग फस्टाउँदै गएको देखिन्छ। र, नेपाल कारोबारीको ट्रान्जिट प्वाइन्ट पनि बनिरहेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइराला ब्युरो लागुपदार्थ/लागुऔषध कारोबार र प्रयोग नियन्त्रणका लागि आक्रामक ढंगले अगाडि बढेको बताउँछन्। लागुऔषध दुर्व्यसनले नेपाली समाजमा गम्भीर असर पारेको बताउँदै उनले यसको नियन्त्रणका लागि सिंगो समाज लाग्नुपर्ने औंल्याए। ‘हामीले लागूपदार्थको आपूर्ति नियन्त्रणमा सक्दो काम गरिरहेका छौं। यसको नियन्त्रणमा ब्युरो लागेको कुरा बरामद सामानको तथ्यांकले पनि देखाउँछ,’ उनले भने, ‘दुर्व्यसनको समग्र नियन्त्रणमा समाजले पनि उत्तिकै साथ दिनु जरुरी छ।’
उनले देशभर रहेका आफ्ना १० युनिट र स्थानीय प्रहरीसँग समन्वय गरेर नियन्त्रणमा लागेको बताए। ‘नेपालमा ब्राउनसुगर र लागुऔषध बढी प्रयोग हुने देखिएको छ,’ उनले भने, ‘औषधिजन्य नसालु पदार्थ भारतीय सहरमा सस्तोमा पाइने भएकाले पनि यता आयात हुने गरेको छ।’
२०७६ सालको तथ्यांकअनुसार नेपालमा लागुपदार्थ दुर्व्यसनीको संख्या एक लाख ३० हजार भए पनि अहिले यो संख्या बढेको अनुमान प्रहरीको छ।
‘दुर्व्यसनीको संख्या बढेकाले नियन्त्रणका लागि प्रहरीसँगै स्थानीय निकाय, जनप्रतिनिधि तथा समग्र समाजको उत्तिकै भूमिका रहन्छ,’ उनले भने, ‘युवाले फेसनको रूपमा समेत नसाका लागि लागुऔषध लिने गरेका छन्।’
नसालु पदार्थ सेवन गरेका व्यक्तिका कारण घरभित्र हिंसा, झगडा, सम्बन्ध विच्छेद र आर्थिक समस्यासँगै बालबालिकामा समेत मनोवैज्ञानिक असर पर्ने बताउँदै उनले दुव्र्यसनीले अपराध पनि निम्ताउने बताए। ‘नसालु पदार्थ किन्न पैसा जुटाउन युवा चोरी, लुटपाट, जबरजस्ती, यौनजन्य कर्मजस्ता क्रियाकलापमा लाग्ने डर उत्तिकै रहन्छ,’ कोइरालाले भने, ‘त्यसैले पनि यसको नियन्त्रण थप जरुरी छ।’
सरकारले लागुऔषध नियन्त्रण ब्युरो, सीमा प्रहरी र सशस्त्र प्रहरीलाई लागुऔषध नियन्त्रणको जिम्मेवारी दिएको छ। लागुऔषध शिक्षा तथा सुधार केन्द्र (नार्कोनन) नेपालका प्रमुख वसन्तराज कुँवर प्रहरीले अहिले गरेको काम राम्रो भए पनि पर्याप्त नभएको बताउँछन्। उनी लागुपदार्थ दुव्यर्सन नियन्त्रणका लागि सिंगो राज्य नै एकै ठाउँमा जुट्नु पर्ने सुझाउँछन्। ‘नखाएकालाई खान नदिने, खाएकालाई चिन्ने, चिनेकालाई व्यवस्थापन गर्ने,’ उनी भन्छन्, ‘फर्किएर आएकालाई फेरि खान नदिने तथा बेचबिखन गर्नेलाई कारबाही जरुरी छ।’ तर पछिल्लो समय प्रहरीले बेचबिखन नियन्त्रणमा चाहिँ सफलता हासिल गरेको उनले सुनाए। उनले यसको नियन्त्रणका लागी राज्य साँच्चिकै गम्भीर हुन नसकेको पनि बताए।
दुर्व्यसनीको सख्ंया सरकारले अनुमान गरेको १ लाख ३० हजारको हाराहारीभन्दा धेरै माथि रहेको उनको बुझाइ छ। ‘हामीलाई के लाग्छ भने सरकारी तथ्यांक दर्ता हुन आएका दुव्र्यसनीमा मात्र आधारित छ, जुन कुल प्रयोगकर्तामध्ये १० प्रतिशत मात्र हुन्छ,’ उनले भने, ‘हाम्रो अनुमानमा कम्तीमा सात लाखदेखि बढीमा १० लाखसम्म दुर्व्यसनी छन्।’
युवा लागुऔषध/लागुपदार्थको कुलतमा फस्नु चिन्ताको विषय भएको छ। कतिपयदे बेरोजगारी र कमजोर आत्मबलका कारण युवा लागुऔषधको कुलतमा पर्न थालेको बताउँछन्। त्यस्तै भविष्यप्रतिको अनिश्चितता, कामको अभाव, अवसरको कमील, डिप्रेसन, चिन्ता पारिवारिकलगायत कारणले पनि युवा लागुऔषधको लततर्फ धकेलिँदै गएको देखिन्छ। मानसिक स्वास्थ्य समस्यालाई अझै पनि लाजको विषय मान्ने प्रवृत्तिले यो समस्या गहिरिएको छ। ‘निराशामा फसेको युवाले नसालु पदार्थ सेवन गर्ने सम्भावना बढी हुन्छ,’ मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे भन्छिन्, ‘यस्तोमा राज्यले गम्भीर भएर काउन्सिलिङ गर्नुपर्छ।’
सहज उपलब्धता र सीमा सुरक्षामा कमजोरी रहेका कारण पनि युवा लागुऔषधको कुलतमा परेको विज्ञ बताउँछन्। भारत र नेपालबिच खुला सिमाना भएकाले नेपालमा भारतबाट लागुऔषधको तस्करी गर्न सजिलो छ। स्थानीय बिचौलिया र अन्तर्राष्ट्रिय गिरोहबिचको मिलेमतोले समस्या झनै जटिल बन्दै गएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, बढ्दो उपभोक्तावादी सोच र ‘कुल देखिने’ मानसिकताले पनि लागुऔषधलाई फेसनका रूपमा लिने प्रवृत्ति नेपाली समाजमा बढेको देखिन्छ। यसले नेपालको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षालगात सबै क्षेत्रमा गम्भीर असर पारेको छ। ‘परिवारमा एकजना दुर्व्यसनी हुँदा घरसँगै सिंगो समाज पिरोलिन्छे,’ पाण्डे थप्छिन्, ‘विकृतिको धुवाँ फैलिनुअगावै समस्याको आगो निभाउनु जरुरी छ।’
नार्कोननका प्रमुख कुँवर पनि यस्ताखाले विकिृत रोक्न विद्यालय तहमै लागुऔषधको असरबारे पाठ्यक्रममा समावेश गर्नु आवश्यक रहेको बताउँछन्। त्यस्तै युवाका लागि कलेज, कार्यालय र सार्वजनिक स्थलहरूमा निःशुल्क काउन्सिलिङ सेवा विस्तार गर्नुपर्ने कुँवरले सुनाए। नियन्त्रणका लागि समाजका अगुवा, शिक्षक, अभिभावक, धार्मिक संस्था र समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेको उनी बताउँछन्।
लागुऔषध दुर्व्यसनको असर व्यक्तिगत जीवनदेखि सामाजिक संरचनासम्म फैलिएको छ। नियन्त्रणका लागि तुरुन्तै प्रभावकारी कदम चालिएन भने यो समस्याले भयावह रूप लिने धेरेको बुझाइ छ। त्यसैले पनि ब्युरो लागुपदार्थको ओसारपसार रोक्न गम्भीर भएर लागेको कोइराला सुनाउँछन्। ‘हामी सबैले लागुऔषधमुक्त समाज निर्माणको अभियानलाई आत्मसात् गर्नुपर्छ,’ कोइराला भन्छन्।
प्रकाशित: १५ श्रावण २०८२ ०६:१८ बिहीबार