समाज

वर्षौंपछि लालपुर्जा पाउँदाको खुसी

२०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडामा बसाईँ सरेर आउँदा धनबहादुर सार्की १७ वर्षका थिए । उनका बुवाले मैनतडामा छ हजार रुपैयाँमा १७ रोपनी ऐलानी जमिन खरिद गरे । धनबहादुर अहिले उमेरले ८३ वर्षका भए ।

शुक्रबार नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट बुवाले किनिदिएको ४८ वर्षअघिको त्यहीँ जमिनको लालपूर्जा हातमा पर्दा धनबहादुरका आँखाबाट हर्षका आँसु झरे । ‘जग्गाको पुर्जा नपाएरै मरिन्छ जस्तो लागेको थियो,’ उनले भने, ‘अहिले बोल्नका लागि पनि कुनै शब्द छैनन् ।’

वर्षौदेखि आफूले हकभोग गरेपनि धनी पुर्जा थिएन् । ‘लालपूर्जा भइदिएको भए छोरा काला पहाड (भारत) जानुपर्ने थिएन्, ऋण लिएर यतै केही गर्दथ्यो होला,’ उनले भने, ‘जग्गा भएर मात्रै नहुँदो रहेछ, जग्गाधनी पुर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको छ ।’

सल्यानबाट सुर्खेत झर्दा मैनतडा क्षेत्र बनमाराले ढाकिएको थियो । त्यहीँ बनमाराले ढाकिएको क्षेत्र मध्ये १७ रोपनी जमिन उनका बुवाले छ हजारमा खरिद गरेका थिए । धनबहादुरका अनुसार बुवा तुल्से सार्की पुर्जाकै आसमा बिते। ‘म पनि पुर्जा नपाएरै मर्छु कि जस्तो लागिरहेको थियो,’ उनले भने, ‘अव छोरा नातिहरूले पुर्जा विहीन भएर बस्नुपर्ने छैन ।’

भेरीगंगाको काठे घारीकी ७१ वर्षीया मोती खत्रीको परिवार २०३० सालतिर सिम्ताबाट बसाई सरेर आएको हो । ‘त्यतिबेला यहाँ रुखै रुख थिएँ, आगो लगाएर रुख ढाल्दै खेत बनायौँ,’ उनले भनिन्, ‘बस्ती बसेको ५२ वर्षपछि जग्गाधनी पुर्जा पाउँदा खुसीले गदगद् भएका छौँ ।’ उति बेला जंगल फाँडेर बसाएका बस्तीमा अहिले घरैघर छन् । गाउँमा सम्पूर्ण पूर्वाधारहरू पुगे पनि सिङ्गो बस्ती लालपूर्जा विहीन थियो । ‘बल्ल अहिले स्थायी बासिन्दा भएको अनुभूति भएको छ,’ उनले भनिन्, ‘जग्गाधनी पुर्जा पाउँदा वर्षौँदेखिको सपना पूरा भएको अनुभूति भएको छ ।’

लेकवेशी नगरपालिका ८८ वर्षीय बलबहादुर ज्ञवालीले ५२ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरे । ‘२०२८ सालदेखि बसेको बस्ती हो, ५२ वर्षपछि हातमा जग्गाधनी पुर्जा प्राप्त भयो,’ उनले भने, ‘पटक¬ पटक नापी भएपनि अहिले आएर प्राप्त गर्न सफल भयौँ ।’ ज्ञवालीका अनुसार यसअघि २०५२ सालमा पनि जग्गाको नापी भएको थियो । तर, पुर्जा भने प्राप्त भएन्।

लेकवेशीकै देवबहादुर बुढा क्षेत्रीले चुनावका बेला नेताहरुले गरेको बाचा बल्ल पूरा भएका बताए । ‘हरेक चुनावमा जग्गाधनी पुर्जा दिन्छौँ भन्थे, प्राप्त भएको थिइन्,’ उनले भने, ’यो पटक भने बाचा अनुसारको काम भयो ।’ भूमि समस्या समाधान आयोगले शुक्रबार लेकवेशीका २१ जना र भेरीगंगाका २२६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्‍यो ।

भूमि समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष केशरबहादुर ओलीले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारिएको बताए । केही दिन अघि पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकामा पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

उपसभापतिद्वारा पुर्जा वितरण 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रवार आयोजित कार्यक्रममा खड्काले दुई ४७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।

खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको बताए । उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको पनि बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्ने गरी छलफल चलिरहेको बताए । उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।

उपसभापति खड्काले जनतामा निराशा भन्दा पनि जिम्मेवारीमा रहेकाहरूसँग असन्तुष्टि रहेको बताए । उनले मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको बताए । उनले आफू उपप्रधानमन्त्री हुँद दुई सय प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको बताए । ‘अहिले पनि मतदाताहरूमा राजस्व धेरै भयो भन्ने गुनासो छ,’ उनले भने, ‘जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा हामीले मतदातालाई बुझाउन सकेका छैनौँ ।’

उनले जिम्मेवारीमा रहेकाहरू सच्चिए नागरिकहरू प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने बताए । ‘अहिलेको चुनौती राजनीतिक दलहरुका लागि यहीँ हो,’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरू लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’ उनले राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए । ‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरूले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टि बढेको हो कि भन्ने पनि ख्याल गरौँ ।’

उपसभापति खड्काले अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताए । प्रमुख दुई दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको छ, उनले भने, अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ यहीँ गठबन्धनले २०८४ को निर्वाचन गराउँछ ।

प्रकाशित: २ श्रावण २०८२ १७:०१ शुक्रबार

#NagarikNews #NepaliNews