समाज

बर्गदा घटनामा घाइते यादवको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ। कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय अरुण यादवको सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो। 

गत चैत ७ गते दुई समुदायबिच भएको हिंसात्मक आन्दोलनका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए। 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। यादवको आन्द्रामा गहिरो घाउ भएको र शल्यक्रिया समेत गरिएको थियो। 

घटनामा उनीसहित ५ जनालाई गोली लागेको थियो। अरू चार जना भने भैरहवा मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन्। गत चैत ७ गते इदका दिन महाराजगन्जको बर्गदा गाउँमा नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन लगाइएको विषयमा मुस्लिम र हिन्दु समुदायबिच विवादले उग्र रूप लिएको थियो। 

सोही दिन महाराजगन्जको जिग्नाहा चोकमा आक्रोशित युवाहरूले प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज, दर्जनौँ राउन्ड अश्रु ग्यास र हवाई फायरसहित गोली चलाइएको थियो। 

घटनापछि मन्दिर तोडफोडको आरोपमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो। तोडफोड र सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले थप चार जनालाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रकाशित: २३ चैत्र २०८२ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App