समाज

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार

सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा-सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहा नगरपालिका-२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेका छन्। उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालका अनुसार चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनालगत्तै ट्रक चालक फरार भएकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पालले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०८३ १५:०२ बिहीबार