समाज

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा

मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयलाई लिएर कात्तिक २५ गते प्रदेश सभा सदस्यहरूका तर्फबाट कृष्णप्रसाद यादवसहितकाले अर्को रिट निवेदन दर्ता गराएका थिए।

रिट निवेदनमाथि न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था कायम रहेकै समयमा तत्कालीन प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठुलो दलका नेता नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई धारा १६८ को उपधारा (३) बमोजिम  मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको जिकिर छ।

प्रकाशित: ११ मंसिर २०८२ १२:२६ बिहीबार