समाज

‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ विश्व सुनामी सचेतना दिवस मनाइँदै

फाइल तस्बिर

सुनामी जोखिम न्यूनीकरणको महत्वलाई उजागर गर्दै आज  विश्वभर सुनामी सचेतना दिवस मनाइँदै छ। यस वर्ष यो दिवस ‘सुनामी तयारीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइएको छ। जापानलगायत तटीय मुलुकहरूमा यो दिवस विशेष रूपमा मनाइन्छ।    

यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई जोड दिएको छ।समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृखंलालाई सुनामी भनिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको हो।  

जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई प्राथमिकता दिँदै आएको छ। राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। खासगरी सन् २००४ को हिन्द महासागर सुनामीमा धेरै मानिसको ज्यान गएको थियो।

सन् २००४ को सुनामीपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो। यो ढाँचालाई हाल ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ। सेन्डाइ फ्रेमवर्कको मुख्य उद्देश्य प्राकृतिक विपद्बाट  हुने मृत्यु, प्रभावित जनसङ्ख्या, आर्थिक क्षति र महत्वपूर्ण पूर्वाधारमा पर्ने असरलाई घटाउनु हो। यसले सुरक्षित एवं दिगो भविष्य निर्माणका लागि सहकार्यमा जोड दिन्छ।

प्रकाशित: १९ कार्तिक २०८२ ०८:१७ बुधबार