विश्व दिगो यातायात दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ।
दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
यातायातले मानिसबीचको सम्पर्क विस्तार, व्यापार, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेले पनि यस क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण बढ्ने चुनौती रहेको छ। आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासको लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो। यसले मानिस तथा वस्तुको आवागमनका लागि आवश्यक सेवा र पूर्वाधार उपलब्ध गराउनुका साथै गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुर्याउँछ।
दिगो यातायातको अवधारणाले सबैका लागि पहुँच, सडक सुरक्षा, वातावरणीय तथा जलवायुसम्बन्धी असर न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ।
राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ को प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको छ।
राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ।
प्रकाशित: १० मंसिर २०८३ १३:१५ बिहीबार



