समाज

बाढी पहिरोका कारण अवरुद्ध विद्युत् सुचारु गर्न काम तीव्र

देशभर बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित भएका विभिन्न जिल्लामा विद्युत् सेवा पुनः सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।

प्राधिकरणका अनुसार प्युठानमा अर्घाखाँचीबाट आपूर्ति हुँदै आएको ३३ केभी लाइन आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने जनाएको छ। उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु हुनेछ।

त्यस्तै, लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुँडिएको कन्डक्टर पुनः जडान (रिस्ट्रिङ) गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

उक्त क्षेत्रमा पानी परिरहेकाले मर्मत कार्यमा कठिनाइ भएपनि आज राति १० बजेसम्म उक्त लाइन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

१३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठानमा विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुने तथा रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा पनि विद्युत् आपूर्ति सुरु हुने प्राधिकरणको भनाइ छ।

रोल्पाको पश्चिमी क्षेत्र होलेरीमा विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ। उक्त क्षेत्रमा एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको र अन्य चार स्थानमा रुखले पोलसहित तार चुँडाएकोले ती स्थानमा मर्मतको काम भइरहेको र भोलिसम्ममा विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको  प्राधिकरणले जनाएको छ।

यस्तै, रोल्पाको थवाङतर्फ जाने लाइनमा भने ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाटो अवरुद्ध भएकाले कर्मचारी तथा प्राविधिक टोलीलाई घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण अझै प्राप्त नभएको बताइएको छ।

यस्तै, रुकुम पूर्वमा सल्यान हुँदै गएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ। पहिरोसँगै पोलहरू बगेको र भोलिसम्ममा लाइन पुनः सञ्चालन गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट विद्युत् आपूर्ति भइरहेको छ।

प्रकाशित: ११ आश्विन २०८३ १८:३४ आइतबार