समाज

बाढीले पाइपलाइनमा ढुङ्गा-बालुवा थुपारेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम ठप्प

बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंस्थित धोबीघाट ढल प्रशोधन केन्द्रको सञ्चालन कार्य पुनः रोकिएको छ।

सोमबार राति आएको बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ठूलो परिमाणमा ढुङ्गा, बालुवा र लेदो थुपारेपछि परीक्षणका क्रममा रहेको ढल प्रशोधन कार्य प्रभावित भएको हो।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार मुख्य पाइपलाइन नै अवरुद्ध भएपछि प्लान्ट सञ्चालनमा समस्या आएको हो।

यसअघि पनि बाढीका कारण अवरुद्ध भएको यस केन्द्रलाई पिआईडीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो।

प्रतिदिन ३ करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता रहेको यस केन्द्रको परीक्षण गत असार ३० गतेदेखि भइरहेको थियो।

उक्त पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ओछ्याएकाले पाइपलाइन सफाइ र दीर्घकालीन व्यवस्थापनका लागि समितिसँग समन्वय भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।

पाइपलाइन सफाइको काम सुरु भइसके पनि प्रणालीलाई पूर्ण रूपमा सफा गर्न अझै केही दिन लाग्ने बताइएको छ। सफाइ कार्य सम्पन्न नहुँदासम्म प्रशोधन केन्द्रबाट ढल प्रशोधनको काम पुनः सुचारु हुन नसक्ने पिआईडीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ २१:११ मंगलबार