कञ्चनपुरमा च्याउ खोज्न गएर सम्पर्कविहीन भएका १४ जना महिलाहरू भेटिएका छन्।
आइतबार ११ बजेदेखि सम्पर्कविहीन भएका महिलाहरू करिब २५ घण्टापछि बिहीबार फेला परेका हुन्। सम्पर्कविहीन भएका महिलाहरूको खोजीमा स्थानीय, प्रहरी र नेपाली सेना खोजीमा खटिएका थिए।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालालले १४ जना महिला भेट्टिसकेको बताए।
भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरू च्याउ खोज्न गएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाटो बिर्सेपछि ती महिलाहरू घर फर्कन नसकेर राति जंगलमै बास बसेको उनले बताए।
सम्पर्कविहीन भएर एक दिनपछि सम्पर्कमा आएकाहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।
उनीहरूसँगै गएका तीन जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको उद्धार गरेको छ।
प्रकाशित: ४ श्रावण २०८३ १३:१६ सोमबार