समाज

महिला उद्यमीहरूले भेटे उपराष्ट्रपति यादव

महिला उद्यमी महासङ्घ (FWEAN) को अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेको छ। भेटमा महिला उद्यमशीलताको प्रवर्द्धन तथा समावेशी आर्थिक विकासका विषयमा केन्द्रित ज्ञापनपत्रसमेत हस्तान्तरण गरेको छ।

भेटमा महासङ्घले आगामी जुलाई ११ मा काठमाडौंमा आयोजना गर्न लागिएको International woman Leadership Conclave बारे जानकारी गराएको थियो। सो अवसरमा सहभागी नेपाली तथा विदेशी प्रतिनिधिहरूले नेपालको महिला सशक्तीकरण, जलवायुअनुकूल व्यवसाय, एआईको उपयोग र निर्यात योग्यताको सन्दर्भमा विचार आदान-प्रदान गर्ने उल्लेख गरिएको छ।

महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा महिला उद्यमशीलता, सामाजिक समावेशीकरण, आर्थिक रूपान्तरण र सरकारी नीति तथा संरचनामा महिला नेतृत्वको सुनिश्चितता जस्ता विषयहरू समेटिएको छ।

भेटमा महासङ्घका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा पाकिस्तान, दुबई र श्रीलङ्काका प्यानलिस्टहरू पनि सहभागी थिए।  उपराष्ट्रपति यादवले महिला उद्यमीहरूको प्रयासको प्रशंसा गर्दै नीतिगत कुराहरू उठाका थिए। 'मुख्य कुरा त उद्यमशीलतामा के-के ल्याइएको छ, कसरी अगाडि बढाउनेलगायतका विषयमा महत्त्वपूर्ण कुराकानी भएको थियो,' अध्यक्ष ज्ञवालीले भनिन्। उपराष्ट्रपति यादवले कार्यक्रमका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।

प्रकाशित: २६ असार २०८२ १९:१५ बिहीबार

#FWEAN #Nagariknews #International woman Leadership Conclave #ShobhaGynawali