साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ।
‘बर्ड कञ्जरभेसन’ नेपालको वार्षिक पानीचरा गणनाले काठमाडौं उपत्यकाको टौदह पोखरी र जगदीशपुर जलाशयजस्ता प्रमुख बासस्थानमा हिउँदे चराको सङ्ख्यामा भारी गिरावट आएको देखाएको हो।
‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठले प्रत्येक वर्ष जनवरीमा गरिने सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै पहिले ४०० देखि ५०० को सङ्ख्यामा हाँसहरू आउने टौदह पोखरीमा अहिले जम्मा १०० देखि १५० हाँस मात्र सीमित भएको बताए।
‘कुनै समय दसौं हजार पानीचरा आउने जगदीशपुर जलाशयमा अहिले दुई हजारदेखि तीन हजार हाराहारीमा मात्रै हाँसहरू देखिने गरेका छन्,’ उनले भने।
सिमसार क्षेत्रको विनाश तथा ह्रास, नदी र तालहरूको स्वरूपमा फेरबदल, प्रदूषण, अत्यधिक सिकार, मानवीय हस्तक्षेप र कीटनाशक औषधिको व्यापक प्रयोगले घुमन्ते चराको अस्तित्वमाथि गम्भीर खतरा निम्त्याएको श्रेष्ठले बताए। उनका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्।
विशेषगरी खोया हाँस सगरमाथा आसपासको अत्यधिक उचाइबाट उडेर हिमाल पार गर्न सक्ने अनौठो क्षमताका लागि प्रसिद्ध रहेको श्रेष्ठले जानकारी दिए। प्रमुख नदी प्रणाली र उपत्यकालाई मुख्य उडान मार्गका रूपमा प्रयोग गर्ने यी चराले कीरा तथा हानिकारक जीवको नियन्त्रण, बीउ फैलावट र पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्न अहम् भूमिका खेल्ने उनको भनाइ छ।
श्रेष्ठका अनुसार कोकिल, कोइली, फ्लाइक्याचरलगायत प्रजाति प्रजननका लागि गर्मीयाममा नेपाल आइपुग्छन् भने जाडोयाममा हिउँद छल्न विभिन्न प्रजातिका पानीचरा यहाँ आउँछन्। हिउँदमा नेपाल भित्रिने चरामा रुद्र चखेवा, नाडेउरी हाँस, सुरेउरी हाँस, नकटा, सुनजघे हाँस, लालसिर हाँस र गोन्डरजस्ता हाँसका प्रजाति पर्छन्।
यस्तै, जलेवा, खोया हाँस, लक्ष्मण सारसलगायतका पानीचरा तथा स्टेप्प इगल, इर्सियन मार्स ह्यारियर, हिमाली बजार्ड र बुटेड इगलजस्ता सिकारी चराहरू पनि जाडोयाममा आउँछन्।
सिमसार र नदीकिनारहरू कमन स्यान्डपाइपर, कमन स्निप, खैरो टाउके (ल्यापविङ), केन्टिस प्लोवर, कमन ग्रिनस्याङ्क र कालो टाउके (गल) जस्ता जलपक्षी तथा तटवर्ती चराका लागि महत्त्वपूर्ण बासस्थान बनेका छन्। श्रेष्ठका अनुसार बाक्लो बिल भएको (वार्बलर), डस्की वार्बलर, कालो कण्ठे (थ्रस), भित्तेचरा, साइबेरियन (रुबीथ्रोट) र पहेँलो छाती भएको बन्टिङ पनि यहाँ देखिने प्रमुख हिउँदे पाहुना चरा हुन्।
‘नेपाल केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत पर्दछ, जसले विभिन्न देशका प्रजनन र हिउँदे बासस्थानलाई जोड्ने महत्त्वपूर्ण मार्गको काम गर्छ,’ श्रेष्ठले भने।
घुमन्ते चराले अन्तर्राष्ट्रिय सीमा पार गर्ने हुनाले स्थानीय वा राष्ट्रियस्तरको छिटपुट प्रयासबाट मात्र संरक्षण सम्भव नहुने भन्दै उनले उडान मार्गमा पर्ने सम्पूर्ण देशहरूबीच आपसी सहयोग आवश्यक रहेको उल्लेख गरे।
बर्डलाइफ इन्टरनेसनलले उडान मार्ग संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न काम गर्दै आएको छ भने नेपाल सरकारको सहकार्यमा देशैभर ४२ वटा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र पहिचान गरी स्थापना गर्न योगदान पुर्याएको छ।
केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गरी तीनवटा प्राथमिकता प्राप्त क्षेत्र रहेका छन्।
‘बर्ड कञ्जरभेसन’ नेपालले सम्बद्ध सरकारी निकाय र स्थानीय सरोकारवाला निकायका प्रतिनिधिसँगको सहकार्यमा प्रत्येक वर्ष जनवरीमा देशैभरका सिमसार क्षेत्रमा हिउँदे पानीचरा गणना गर्दै आएको छ।
बिग्रिएका सिमसार क्षेत्रको पुनःस्थापना, प्राकृतिक नदी प्रणालीको जगेर्ना, प्रदूषण तथा सिकार नियन्त्रण, दिगो कृषि अभ्यासको प्रवर्द्धन र समुदायको सहभागिता अभिवृद्धि गर्न सकेमात्र घुमन्ते चराले सुरक्षित बासस्थान पाउन सक्ने श्रेष्ठले जानकारी दिए।
प्रकाशित: २९ कार्तिक २०८३ १९:३४ आइतबार



