गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेडा खेतीमा क्षति पुगेको छ। व्यावसायिक रूपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो।
सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेडा खेतीमा क्षति पुगेको हो। टनेलमा किसानले गोलभेडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेला लगायतका तरकारी उत्पादन गर्दै आएका छन्।
एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेडा उत्पादन हुने त्यहाँका किसान बताउँछन्। टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ।
उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने गरेको छ। ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ।
बजारमा गोलभेडाको माग अत्यधिक भए पनि पछिल्लो समय मागअनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताए। हुरीका कारण आठ लाख रुपैयाँभन्दा बढीको गोलभेडामा क्षति पुगेको छ। स्थानीय बजारमा गोलभेडा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा तथा थोकमा ३५ देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडी लगायत किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्।
बर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्याउन सकस भएको छ। अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुर्याउनुपर्ने बाध्यता छ।
किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ। तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए।
तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनले बताए। यसअन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताए।
प्रकाशित: २२ आश्विन २०८३ १२:२२ बिहीबार