कक्रोेच जनता पार्टी (सिजेपी) ले शनिबार नयाँ दिल्लीको जन्तरमन्तरमा ठुलो प्रदर्शन गर्यो । केही दिनमै दुई करोडभन्दा बढी फलोअर बनाएको ‘कक्रोेच इज ब्याक’ नामक सामाजिक सञ्जाल अभियानको आह्वानमा उल्लेख्य संख्यामा समर्थक राजधानीमा भेला भए । प्रदर्शनकारीले एक स्वरमा भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । सिजेपीले यसका लागि सरकारलाई एक साताको अल्टिमेटम दिएको छ।
यस्तो अवस्थामा प्रश्न उठेको छ– सिजेपीको आगामी बाटो के हुने छ? केही राजनीतिक विश्लेषकहरूले यसलाई अझै अपरिपक्व र स्पष्ट दिशा नभएको आन्दोलनका रूपमा हेरेका छन् । उनीहरूका अनुसार अनुभवी नेतृत्वको अभाव यो आन्दोलनको प्रमुख कमजोरी हो । तर सिजेपीले उठाएका मुद्दाप्रति सर्वसाधारणको बढ्दो आकर्षण र सहभागितालाई हेर्दा केही विश्लेषकले यसमा भविष्यको सम्भावना पनि देखेका छन्।
सिजेपीका प्रवक्ता सौरभ दासले आन्दोलनको प्रमुख माग पूरा भएपछि भविष्यको योजना सबै मिलेर तय गर्ने बिबिसीलाई बताएका छन् । उनले यो अभियान पीडित युवाहरूको साझा मञ्च भएको बताए । ‘हाम्रो भविष्य भनेको हालको संघर्ष हो । शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्छ अथवा प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई राजीनामा दिन बाध्य पार्नुपर्छ भन्ने माग हामी गरिरहेका छौं,’ उनले भने।
प्रवक्ता दासका अनुसार ठुलो संख्यामा मानिसहरूको उपस्थितिले आन्दोलनलाई वैधता र स्वीकार्यता प्रदान गरेको छ । ‘कतिपय समर्थक अन्य सहरमा भएकाले आउन सकेनन् तर अब हामीलाई विश्वास भइसकेको छ कि यो आन्दोलन सही दिशामा अघि बढिरहेको छ,’ उनले भने । प्रदर्शनमा कति मानिस सहभागी भए भन्ने विषयमा पसन सामाजिक सञ्जालमा बहस चलेको छ । सिजेपीका अर्का प्रवक्ता अभिषेक रांकाले सहभागी संख्या सहजै हजारौं भएको दाबी गरेका छन्।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक शरद गुप्ताका अनुसार जन्तरमन्तरमा देखिएको भिडले भारतमा व्यवस्थाप्रति जनतामा रहेको असन्तोष र आक्रोशलाई प्रतिविम्बित गर्छ । उनले यसलाई निर्भया काण्डपछि समर्थकहरू मौसमको पर्वाह नगरी सडकमा उत्रिएको अवस्थासँग तुलना गरेका छन् । तर उनको विचारमा हालको अवस्थामा यो आन्दोलन विगतमा बिपी सिंह, जयप्रकाश नारायण अथवा अन्ना हजारेको आन्दोलनजस्तो व्यापक रूप लिन कठिन देखिन्छ । ‘भाजपाले युवालाई विभिन्न माध्यमबाट जोडेर राखेको छ । प्रधानमन्त्री मोदी स्वयं युवासँग संवाद गर्छन्, परीक्षा पे चर्चाजस्ता कार्यक्रम सञ्चालन गर्छन्,’ उनले भने।
बदलिँदो राजनीतिक वातावरण
वरिष्ठ पत्रकार तथा विश्लेषक स्मिता गुप्ताका अनुसार यो आन्दोलन यस्तो समयमा भएको छ, जतिबेला मोदी सरकारको प्रारम्भिक लोकप्रियताको प्रभाव कमजोर हुँदै गएको छ । ‘देशको आर्थिक अवस्था, पश्चिम एसियामा चलिरहेको युद्धलगायतका कारण मानिसमा निराशा बढिरहेको छ,’ उनले भनिन्, ‘जनताले अहिलेको परिस्थितिबाट थकान महसुस गर्न थालेका छन्।’
ठुलो आन्दोलनको सम्भावना
सिजेपीका नेताहरूका अनुसार युवाका वास्तविक समस्या बारम्बार धर्म, जाति र अन्य विवादास्पद मुद्दाहरूले ओझेलमा पारिएका छन् । उनीहरू अहिले शिक्षामन्त्री प्रधानको राजीनामालाई मुख्य अजेन्डा बनाइरहेका छन् तर शरद गुप्ताका अनुसार आन्दोलनसँग स्पष्ट रणनीति र दीर्घकालीन योजना छैन । ‘युवाको आक्रोशलाई यसले अभिव्यक्ति दिएको छ तर स्पष्ट दिशा नपाएसम्म यस्तो आक्रोश कहिले यता त कहिले उता भड्किन सक्छ,’ उनले भने । यद्यपि स्मिता गुप्ताले यस आन्दोलनमा सम्भावना देखेकी छन् । उनका अनुसार रोजगारी, शिक्षा र युवाको भविष्यसँग जोडिएका विषयले आम नागरिकलाई प्रत्यक्ष असर गर्ने भएकाले आन्दोलनको आधार फराकिलो हुन सक्छ । उनको विचारमा लोकतन्त्र वा अभिव्यक्ति स्वतन्त्रताजस्ता वैचारिक मुद्दामा आधारित आन्दोलनहरू सीमित समूहमा केन्द्रित हुन सक्छन् तर सिजेपीले उठाएका मुद्दाले युवाका अभिभावक र परिवारलाई समेत जोड्न सक्छ।
सिजेपी चुनावी राजनीतिमा जाला?
सिजेपी अन्ततः प्रत्यक्ष राजनीतिमा प्रवेश गर्छ कि गर्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । बिबिसीले यसबारे सोध्दा उक्त पार्टीका प्रवक्ता आशुतोष रांकाले भने, ‘सबै कुरा राजनीतिक हुन्छ । हामीले सास फेर्ने हावा, पिउने पानी र पढ्ने विद्यालय सबै राजनीतिद्वारा प्रभावित हुन्छन् । त्यसैले राजनीतिक र अराजनीतिक भन्ने छुट्याउन गाह्रो छ।’
राजनीतिक विश्लेषक शरद गुप्ताका अनुसार जसरी अन्ना हजारेको आन्दोलनबाट पछि अरविन्द केजरीवाल राजनीतिमा आएका थिए, त्यस्तै सम्भावना सिजेपीको सन्दर्भमा पनि नकार्न सकिँदैन । गुप्ताले भने, ‘जब अरविन्द केजरीवालले आन्दोलन सुरु गरेका थिए, त्यतिबेला धेरैले आन्दोलन गर्नु र चुनाव लड्नु फरक कुरा हो भनेका थिए तर उनले पछि चुनाव जितेर देखाए । सिजेपीले पनि भविष्यमा त्यस्तै बाटो रोज्न सक्छ।’
विश्लेषक गुप्ताका अनुसार अहिले सिजेपीका नेतृत्वकर्ता युवा र अनुभवहीन देखिए पनि भविष्यमा उनीहरूले अपेक्षाभन्दा ठुलो समर्थन प्राप्त गर्न सक्ने सम्भावना छ । त्यसो त जन्तरमन्तरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिजेपीका प्रवक्ता आशुतोष रांकाले आफ्नो संगठनलाई युवा, शिक्षा, संविधान र भारतको पक्षमा उभिएको संगठनका रूपमा व्याख्या गरेका छन् । ‘तपाईंहरू यसलाई जुनसुकै नाम दिन सक्नुहुन्छ । यो युवाहरूको सामूहिक मञ्च हो, युवाहरूको आन्दोलन हो,’ उनले भने।
भविष्यमा ‘कक्रोच जनता पार्टी’ नाम परिवर्तन गर्ने योजना छ कि भनेर पनि सोधिएको थियो । उनले उत्तर दिँदै भने, ‘नामभन्दा महत्त्वपूर्ण यसको सन्दर्भ हो । करिब एक महिनाअघि व्यंग्यका रूपमा यसको सुरुआत भएको थियो । पछि यसमा जनता र पार्टी शब्द थपियो। नामबारे बहस हुन सक्छ तर यसको मूल सन्दर्भ हटाउन सकिँदैन।’
सिजेपीका संस्थापक तथा संयोजक अभिजित दिप्केले ‘धेरै युवाले एकजुट हुनुपर्छ र साझा प्लेटफर्म बनाउनुपर्छ भनेअनुसार नै यो अभियान सुरु भएको’ बताए । जन्तरमन्तरमा भएको प्रदर्शनपछि चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सिजेपीलाई बेवास्ता गर्नु वा परम्परागत राजनीतिक मापदण्डबाट मात्र मूल्यांकन गर्नु गल्ती हुने छ।’
उनले थपेका छन्, ‘कक्रोेच जनता पार्टी कुनै राजनीतिक दल होइन । यो आम जनताको एउटा अभिव्यक्ति हो । यो परम्परागत अर्थमा आन्दोलन पनि होइन बरु एउटा विशेष क्षण हो र यही कारणले यो महत्त्वपूर्ण छ ।’ केही विश्लेषकहरूले नेतृत्वको अनुभवहीनतालाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन् । शरद गुप्ताका अनुसार राजनीतिक अनुभवबिना यो समूहले ठुलो राष्ट्रिय आन्दोलनको रूप लिन कठिन हुन सक्छ । यसको नेतृत्व गरिरहेका प्रमुख प्रवक्ताहरूसँग राजनीतिक अनुभव छैन।’
समग्रमा कक्रोच जनता पार्टीले छोटो समयमा सामाजिक सञ्जाल र सडक दुवैमा उल्लेखनीय चर्चा बटुलेको छ । यसले शिक्षा, रोजगारी र युवाका अवसरसँग सम्बन्धित असन्तोषलाई आवाज दिएको देखिन्छ तर यो असन्तोषलाई दीर्घकालीन, संगठित र प्रभावशाली आन्दोलनमा रूपान्तरण गर्न स्पष्ट नेतृत्व, रणनीति र संगठनात्मक संरचना आवश्यक पर्ने विश्लेषकहरूको मत छ । तत्कालका लागि सिजेपीलाई भारतका युवाहरूको बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाको प्रतीकका रूपमा हेरिएको छ । भविष्यमा यो केवल एक क्षणिक अभियान रहने छ वा ठुलो राजनीतिक–सामाजिक आन्दोलनमा रूपान्तरण हुने छ, त्यो भने समयले नै देखाउने छ।
(बिबिसीमा आधारित)
प्रकाशित: २५ जेष्ठ २०८३ ०७:२५ सोमबार