समाज

रौतहटमा जंगली निलगाईको आतंक

जंगलबाट किसानले लगाएकाे बालीमा प्रवेश गरेका निलगाई । तस्बिर: मदन ठाकुर/नागरिक

रौतहटमा जंगली जनावर निलगाईको आतंक बढ्दै गएको छ।

जिल्लाको बौधिमाई नगरपालिका र मौलापुर नगरपालिकाका विभिन्न टोलमा निलगाइले किसानको बालीमा ठूलो नोक्सानी पुर्‍याइरहेको स्थानीयले बताएका छन्।

स्थानीय किसानका अनुसार जंगली जनावर निलगाई बिहानै र दिउँसोको समयमा आउने निलगाईले गहुँ, दलहन, तेलहन तथा विभिन्न तरकारी बाली खाइदिने र कुल्चेर नष्ट गर्ने गरेकोले किसानहरू चिन्तित भएका छन्।

बौधिमाई नगरपालिकाका अजय यादव भन्छन, “धेरै मेहनत गरेर लगाएको गहुँ र तरकारी बाली निलगाइले रातारात नष्ट गरिदिन्छ। यसले गर्दा ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।”

त्यस्तै मौलापुर नगरपालिकाका विभिन्न टोलका किसानहरू पनि निलगाईको आतंकका कारण बाली जोगाउन खेतबारी मै बस्न बाध्य भएको किसानहरु बताउँछन्। उनीहरूले सम्बन्धित निकायसँग समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्।

स्थानीयबासीका अनुसार निलगाईको संख्या बढ्दै जाँदा खेतीपाती जोगाउन झन् कठिन हुँदै गएको छ। किसानहरूले बाली संरक्षणका लागि उचित व्यवस्था मिलाइदिन वन कार्यालय र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: २७ फाल्गुन २०८२ १५:२४ बुधबार