मोरङको पथरी शनिश्चरे नगरपालिका–३ की अनिता घिसिङ्ले श्रीमान् मंगलबहादुर घिसिङको उपचारमा हालसम्म १२ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छन्। मेरुदण्ड पक्षघातका कारण अशक्त बनेका श्रीमान्को उपचारका लागि सहयोगी दाताबाट प्राप्त रकम खर्च गर्दा पनि स्वास्थ्य अवस्थामा सुधारको आशा देखिएको छैन।
घरको दैनिकी चलाउनसमेत समस्या भइरहेको अवस्थामा ३४ वर्षीया अनिता गाउँघरमा अर्काकोमा दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउँदै आएकी थिइन्। एकातिर श्रीमान् बिरामी भएको पीडा, अर्कातिर घर खर्च धान्नुपर्ने बाध्यताबीच उर्लाबारीका एक सहयोगीको सुझावमा उनी इटहरीस्थित माइती नेपाल पुगेकी थिइन्। आफ्नो अवस्था सुनाएपछि माइती नेपालले उनलाई सिटी सफारी उपलब्ध गराउने निर्णय गरेको हो।
केही दिनको तालिमपछि आइतबार अनिताले सिटी सफारी प्राप्त गरिन्। सिटी सफारी पाएपछि हर्षित हुँदै उनले भनिन्, “अब घर खर्च चलाउन सहज हुने विश्वास जागेको छ।” उनका अनुसार अब उनले पथरी क्षेत्रका ग्रामीण सडकमा सिटी सफारी चलाउनेछिन्, जहाँ गाउँबाट बजार जाने यात्रुको अभाव नहुने उनको विश्वास छ।
यस्तै, इटहरी उपमहानगरपालिका–५ की असारी राई पनि माइती नेपालबाट सिटी सफारी पाउने महिलामध्ये एक हुन्। उनका श्रीमान् शुक्र राई दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। त्यहाँ काम गर्ने क्रममा मेसिन दुर्घटनामा परी हातखुट्टा गुमाएर स्वदेश फर्किएका थिए। त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी ३५ वर्षीया असारीको काँधमा आएको थियो।
श्रीमान् र पाँच वर्षको छोरालाई फुपूको घरमा राखेर पालनपोषण गर्दै आएकी असारीले विभिन्न हन्डर खेप्नुपरेको बताइन्। केही समय उनले स्थानीय सिर्जनशील प्राथमिक विद्यालयमा सामान्य कर्मचारीका रूपमा काम गरे पनि आम्दानीले परिवार धान्न नसकेपछि समस्या झन् बढेको थियो। यस्तो अवस्थामा माइती नेपालको शरणमा पुगेपछि उनले पनि सिटी सफारी प्राप्त गरेकी हुन्। “अब परिवार पाल्न केही सहज हुने भएको छ,” उनले भनिन्।
इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया जुनु अधिकारी पनि घरेलु हिंसाबाट पीडित महिला हुन्। १३ वर्षीया छोरीसहित दैनिकी चलाउन कठिनाइ भइरहेको बेला उनले पनि माइती नेपालबाट सिटी सफारी पाएकी छन्।
माइती नेपाल परामर्श तथा पुनःस्थापना केन्द्रले जोखिममा परेका तथा संरक्षणमा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिटी सफारीसहित विभिन्न जीवनोपयोगी सीप र सामग्री उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख सुनिता कार्कीले जानकारी दिइन्। उनका अनुसार हाल दुई जनालाई इ–रिक्साका ब्याट्री, सात जनालाई बेसिक तथा एडभान्स कटाइ–सिलाइ तालिम, र पाँच जनालाई सिलाइ मेसिन प्रदान गरिएको छ।
संयोजक कार्कीका अनुसार उद्धार गरी ल्याइएका तथा विविध कारणले घरको जिम्मेवारी एक्लै सम्हाल्न बाध्य महिलाहरूलाई समयानुकूल र बजारको मागअनुसार सीपमूलक तालिम प्रदान गर्दै आइएको छ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गिता कुमारी चौधरीले महिलाको उद्धार, संरक्षण र सशक्तीकरणमा माइती नेपालले खेलेको भूमिकाको प्रशंसा गरिन्।
२०५० सालमा स्थापना भएको माइती नेपालले हालसम्म सात सयभन्दा बढी महिलालाई तालिम, सेवा तथा उद्धार प्रदान गरिसकेको छ। संस्थाले वार्षिक रूपमा दुई सत्रमा बजारको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। हालसम्म माइती नेपालले १५ वटा इ–रिक्सा वितरण गरिसकेको जनाएको छ।
प्रकाशित: १३ पुस २०८२ १९:५६ आइतबार