समाज

थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका दुई भारतीय महिला किन पक्राउ परे ?

काठमाडौंमा १४ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको टोलीले विमानबाट आएका यात्रुको जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू बटिक एयरको उडान नम्बर ओडी १८२ बाट नेपाल आएका थिए।

पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महमद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्। दुवै भारतीय नागरिक हुन्।

प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

ब्युरोले २०८३ कात्तिक १० गते जारी गरेको प्रेस विज्ञप्तिमा हवाई मार्गबाट नेपाल आउने यात्रुको जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको उल्लेख छ।

प्रकाशित: ११ कार्तिक २०८३ ०७:०१ बुधबार