‘भ्रष्टचारको विषयमा सानैदेखि सुन्दै आएको तर यो विषयलाई यति बृहत रुपमा कहिल्यै लिन सकिएको थिएन, हाम्रा घरपरिवारका सदस्य, आफन्त, छरछिमेक सबैले भ्रष्टचार गर्दै आएका रहेछन। सरकारी कार्यलयमा सानो शुल्कबाट हुने भ्रष्टचारको स्वरुप परिवर्तन भएर अहिले देशमा यो जेन जी पुस्तालाई बस्न मन नलाग्ने बनाए यी राजनीतिक दलहरुले, यसकै प्रतिकारात्मक स्वरुप हो हाम्रो आजको आन्दोलन,’ सोमबार बानेश्वरको आन्दोलनमा सरिक प्रधान थापाले एक श्वासमा आक्रोश पोखे ।
‘भ्रष्टचार बढ्दै जादाँ देशमा केहि गर्छु भन्ने आशा बोकेका युवाहरु पनि निराश बन्न बाध्य छन्, त्यसैले जबसम्म उच्चस्तरका नेताहरुले नेतृत्व परिवर्तनको लागी स्थान दिँदैनन, नयाँ पुस्तालाई स्वीकार गर्दैनन् तबसम्म यो जेन जी पुस्ताको आक्रोश साम्य हुदैन,’ उनले भने ।
सामाजिक सञ्जाल बन्द गरेपछि जेन जीले सुरु गरेको ‘नेपो किड्स’ नामक गतिविधिले सञ्जाल मात्रै तताएन सोमबार माइतीघरबाट बानेश्वरसम्मको सडक अवरुद्ध बनायो। साथै जेन जीको भिडले सांसद भवनमा प्रवेश गरि तोडफोडसमेत गर्न थालेपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास मात्रै प्रहार गरेन रबरको गोलीसमेत हान्यो । जसमा जेन जी मात्रै यसको सिकार भएनन सञ्चारकर्मी पनि घाइते भए ।
अस्थिर राजनीतिक प्रणाली र उनीहरुले गरेको अव्यवस्थित योजनाले देशमा बस्ने वातावरण नै गुमेको र आर्थिक प्रणाली मारमा जेन जी पुस्ता परेको सर्वदा रोकायाले बताइन् । उनी भन्छिन्, ‘हामीजस्ता सामान्य परिवारका छोराछोरीले सहजरुपमा शिक्षा पाउन सकेका छैनौं, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत र मौलिक अधिकार जुन संविधानमा सुनिश्चित छ त्यो पनि यो सरकारले प्रत्याभुति गराउन सकेको छैन, तर नेताका छोराछोरी भने विश्वका विभिन्न स्थान पुग्ने, व्यापार व्यवसाय र मनोरञ्जनमा मस्त छन् । यस्तो असमानता किन ? यो कहाँको न्याय हो?’
उनले आक्रोश सहित प्रश्न गरिन,‘हाम्रो भविष्य लुट्ने यस्तै हुन्छन् असल राजनेता ? के लोकतन्त्रको पर्याय भ्रष्टचार हो ?, असमानता हो ?’ विद्यालयबाट प्रत्यक्ष रुपमा आन्दोलनमा सहभागी हुन पुगेकी सर्वदा रोकायाले सरकार र नेतृत्वतहमा भएका व्यक्तिमाथि आक्रोश पोखि नै रहिन ।
राज्यको सम्पत्ति दोहन हुन नहुने प्रमुख एजेण्डा बनाएको जेन जीलाई कसले सडक आन्दोलन गर्न प्रेरित गर्यो यो अहिलेसम्म अनुत्तरित छ । यद्यपी उनीहरुका माग भने समयसापेक्ष छन् । विद्यालयको पोसाकमा आन्दोलनमा सहभागी हुन पुगेकी सुष्मा तामाङ भन्छिन्, ‘उनीहरुको कालो कर्तुत देखा पर्न थालेपछि सरकार डराएर सामाजिक सञ्जाल बन्द गर्यो, यसको नतिजा झनै खराब हुन्छ।’ सामाजिक सञ्जाल बन्दले सरकारी ओहदामा भएका कर्तुतलाई देखाएको तर्क उनको छ ।
बाहिरी देशहरुमा जेन जी पुस्ताले धेरै परिवर्तन गरेपनि नेपालमा यो पहिलो प्रयास हो। तर उनीहरुले आफ्नो पहिलो प्रयासलाई पनि सामान्य मान्न सकेका छैनन्। आन्दोलनमा सहभागी अर्का जेन जी पुस्ताका निरञ्जन घिमिरेले पनि सरकारसगँ धेरै असन्तुष्टि पोखे। उनी भन्छन्, ‘जीवनमा पहिलो पटक देशको लागि, देशको स्वाभिमानको लागी र मजस्तै मेरा पुस्ताको लागी झण्डा बोकेर सडकमा आएको छु र परिवर्तनको आश पनि बोकेको छु।’
उनले यो देशमा गरिखाने वातावरण दिन नसक्ने सरकारप्रति अब केही अपेक्षा बाकी नै नरहेको बताए । ‘अबको परिवर्तन हाम्रो लागि हुनुपर्छ । त्यसैले हामी सडकमा छौँ,’ उनले भने ।
सोमबार काठमाडौं लगाएत देशका मुख्य शहरमा जेन जीले पुस्ताले गरेको आन्दोलनले उग्र रुप लिएपछि प्रहरी प्रशासनले गोली चलायो । गोली मात्रै होइन धेरै ठाउँमा कर्फ्यू आदेश जारी पनि भयो । सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने भनिए पनि सडकमा यसको स्वरुप फेरिएको थियो । यही जेन जी पुस्ताको आन्दोलनलाई समर्थन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले जेन जीको भिड देख्दा सपना जस्तो लागेको बताए । उनले भने, ‘सरकारले उनीहरुको माग समयमा सम्बोधन गर्नुपर्छ । जेन जी सडकमा आइसकेको छ, अब सरकारले तत्काल भ्रष्टचारका प्रत्येक फाइलको छानबिन गर्नुपर्छ र यो पुस्ताले राखेको माग छिटो पुरा गर्नुपर्छ।’ जेनजीको माग जसरी पनि सरकारले पूरा गर्नुपर्ने सुझाव कार्कीको छ।
एकातिर संघर्षपूर्ण जीवनसँग लडिरहेका नेपाली जनता र अर्कातिर आफ्ना सन्तानको जीवनशैलीलाई उच्च स्थानमा लैजान सफल राजनीतिक दलका नेता र नेताका परिवारबीच ठूलो खाँडल देखिँदा त्यसको विरोध जेनजीले गरेका छन् । सामाजिक सञ्जालबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले सडक आन्दोलनको रुप लियो । यो आन्दोलनको स्वरुप र अवस्था सरकारले बेलैमा आँकलन गर्न नसक्दा धेरै मानवीय क्षति भए । प्रहरीको गोली लागेर जेनजीको सपना पूरा गर्न धेरै युवाले सहादत प्राप्त गरे ।
अब थप क्षति हुन नदिने गरी राज्यले नयाँ पुस्ता जेनजीका माग सम्बोधन गर्न आवश्यक छ । ताकि यो आन्दोलनको शान्तिपूर्ण निकास निस्कियोस् ।
प्रकाशित: २३ भाद्र २०८२ १७:३८ सोमबार