समाज

आफ्नो आवाज सुनाउन नेपालीले ज्यानै जोखिममा राख्नुपर्ने किन ?

त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि नागरिकको पीडा, निराशा र राज्यको जवाफदेहितामाथि फेरि गम्भीर प्रश्न उठेको छ ।

लामा अहिले उपचाररत छन् । तर आगोले उनको शरीर मात्रै जलाउन खोजेको होइन, उनको घटनाले एउटा गहिरो प्रश्न पनि सतहमा ल्याएको छ—आफ्नो पीडा सुनाउन, आफ्नो गुनासो राख्न र राज्यको ध्यानाकर्षण गराउन नेपाली नागरिकले किन आफ्नै ज्यान जोखिममा पार्नुपर्ने अवस्था आइरहेको छ ?

जेन्जी अभियन्ता रविकिरण हमालले त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनालाई स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् । उनका अनुसार नागरिकका गुनासा र समस्या समयमै सम्बोधन हुन नसक्दा उनीहरू पीडाको अन्तिम सीमासम्म पुग्ने अवस्था सिर्जना भइरहेको छ ।

हमालले घटनाअघि थापाथली क्षेत्रमा ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको आफूले बुझेको उल्लेख गर्दै नागरिकमाथि राज्यका विभिन्न संयन्त्रबाट हुने व्यवहारबारे प्रश्न उठाएका छन् । केही समयअघि गणेश नेपालीको घटनामा नगर प्रहरीको प्रसंग जोडिएको थियो भने अहिले दावाको घटनामा ट्राफिक प्रहरीसँगको विवादको प्रसंग आएको छ । घटना र कारण फरक हुन सक्छन्, तर नागरिकले राज्यलाई कसरी अनुभूति गरिरहेको छ भन्ने प्रश्न भने एउटै हुन सक्छ ।

नागरिकको जीवन सामान्य रूपमा चलिरहेको देखिए पनि भित्रभित्रै कति पीडा, आक्रोश र निराशा बोकेर मानिस हिँडिरहेको छ भन्ने कुरा राज्यले घटना भएपछि मात्रै थाहा पाउने हो भने त्यो जवाफदेहिताको कमजोर अवस्था हो । नागरिकले चिच्याएर, आगो लगाएर वा ज्यानै जोखिममा पारेर आफ्नो आवाज सुनाउनुपर्ने होइन । उसको सामान्य गुनासोमै राज्यले सुन्ने, बुझ्ने र समाधान खोज्ने अवस्था हुनुपर्छ ।

हमालले उपचाररत दावा लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । साथै, घटनाको वास्तविक कारण निष्पक्ष रूपमा छानबिन गरी दावाजस्तो चरम कदम चाल्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा राज्यले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा बसको ढोका फुटाएर चालक लामाको उद्धार गरिएको थियो । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०८३ १५:२३ सोमबार