समाज

निसास्सिएको काठमाडौं: किन बढ्यो प्रदूषण ?

केही दिनयता काठमाडौं उपत्यकाको आकाश निलोभन्दा बढी धुम्मिएको देखिन्छ। बिहान उठ्दा टाढाका डाँडाकाँडा स्पष्ट देखिँदैनन्, दिउँसो घाम लागे पनि वातावरण कुहिरोले ढाकिएकोजस्तो लाग्छ। सास फेर्दा घाँटी पोल्ने र आँखा जल्ने गुनासो पनि बढ्दै गएको छ।

देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै जाँदा काठमाडौं उपत्यका पनि त्यसको चपेटामा परेको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार इलाम, अछाम, ललितपुरको भैँसीपाटी, भक्तपुर, काठमाडौंको रत्नपार्क, शंखपार्क तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय आसपास, दाङको देउखुरी र सुर्खेतमा वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ।

सरकारले प्रयोग गर्ने वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘मध्यम’, १०१ देखि १५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१ देखि २०० ‘अस्वस्थ’, २०१ देखि ३०० ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि पुगेमा ‘खतरनाक’ अवस्था मानिन्छ। अहिले कतिपय स्थानमा यो सूचकाङ्क १५० नाघिसकेको छ।

ललितपुरको खुमलटार, मुस्ताङ तथा काभ्रेको धुलिखेल आसपासका क्षेत्रमा पनि वायु प्रदूषण दीर्घरोगी तथा संवेदनशील व्यक्तिका लागि हानिकारक अवस्थामा पुगेको विभागले जनाएको छ।

किन बढ्छ काठमाडौंमा प्रदूषण ?

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले अहिले देखिएको प्रदूषण मुख्यतः मौसमी प्रकृतिको भएको तर काठमाडौं उपत्यकाको भू-आकृति र मानव गतिविधिले यसलाई थप गम्भीर बनाएको बताए।

उनका अनुसार काठमाडौं उपत्यका चारैतिर पहाडले घेरिएको ‘कचौरा’ जस्तो भू-भाग हो। यस्तो भौगोलिक बनावटका कारण हावामा फैलिएको धुलो-धुवाँ सजिलै बाहिर निस्कन पाउँदैन।

‘वायु प्रदूषण गराउने कारक तत्वहरू काठमाडौंमा पर्याप्त छन्।,’ सुवेदी भन्छन्, ‘सवारीसाधन, उद्योग-कलकारखानाबाट निस्कने धुलो-धुवाँ, आगलागी, वन डढेलो, विकास निर्माणका काम र फोहोर जलाउने गतिविधि प्रमुख कारण हुन्।’

मनसुन सकिएपछि लामो समय वर्षा नहुनु पनि अर्को कारण बनेको छ।

‘वर्षा नभएपछि हावामा रहेका धुलो र धुवाँका कण जमिनमा बस्न नपाई वायुमण्डलमै रहिरहन्छन्। जाडो महिनामा हावाको बहाव पनि कमजोर हुने भएकाले प्रदूषित कणहरू उपत्यकाभित्रै थुप्रिने गर्छन्।’, उनले भने, ‘कतिपय स्थानमा सुरु हुन थालेका वन डढेलोले प्रदूषण अझ बढाउने जोखिम छ।’

पुराना सवारीसाधन, विशेषगरी डिजेलबाट चल्ने गाडी तथा नियमित मर्मत नगरेका सवारीबाट निस्कने धुवाँ पनि प्रदूषणको ठूलो स्रोत मानिन्छ।

त्यसैगरी काठमाडौं र आसपासका क्षेत्रमा फोहोर, प्लास्टिक वा पराल जलाउने अभ्यासले पनि हावामा विषालु कण बढाइरहेको वातावरण विभागको निष्कर्ष छ। आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्न हतारिने विकास निर्माणका कामले सडक धुलाम्मे बनाउँदा प्रदूषण झनै बढ्ने गरेको छ।

कहिले घट्ला ?

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रदूषण घट्नका लागि ठूलो वर्षा वा तीव्र गतिको हावा आवश्यक पर्छ।

अहिले प्रदूषण बढी भएका स्थानमा तुवाँलोसमेत देखिएको र त्यसले भिजिबिलिटी पनि घटाएको उनले बताए।

पौडेलका अनुसार गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका केही स्थानमा बिहीबार हल्का वर्षा हुन सक्ने सम्भावना छ। त्यसले प्रदूषण केही हदसम्म घटाउन मद्दत गर्ने अनुमान गरिएको छ।

जाडो सकिँदै गर्मी सुरु हुन लागेकाले अब विस्तारै दिउँसो घाम चर्किने र साँझतिर मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना बढ्ने मौसमविद्को भनाइ छ।

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार वायु प्रदूषण भनेको हावामा धुवाँ, हानिकारक रासायनिक पदार्थ तथा सूक्ष्म धुलोका कण मिसिनु हो। यस्ता कण सासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गर्दा फोक्सो र रक्तसञ्चार प्रणालीमा गम्भीर असर पर्न सक्छ।

विशेष गरी पीएम २.५ र पीएम १० जस्ता सूक्ष्म कण स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणले दम, दीर्घकालीन अवरोधक फोक्सो रोग (सीओपीडी), मुटुरोग तथा स्ट्रोकजस्ता समस्याको जोखिम बढाउँछ।

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिले विशेष सावधानी अपनाउन उनले सुझाव दिएका छन्।

मन्त्रालयले प्रदूषण बढी भएको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा बिहान-बेलुका सकेसम्म बाहिरी गतिविधि कम गर्न पनि आग्रह गरेको छ।

वातावरणविद्हरूका अनुसार वायु प्रदूषण न्यूनीकरण गर्न सरकारी प्रयास मात्र पर्याप्त हुँदैन। सवारीसाधनको नियमित मर्मत, फोहोर तथा बालीनालीका अवशेष नजलाउने, वन डढेलो नियन्त्रण गर्ने र निर्माण कार्य गर्दा धुलो नियन्त्रणका उपाय अपनाउने जस्ता कार्यमा नागरिक र निकायबीच सहकार्य अपरिहार्य छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App