समाज

पति-पत्नी सम्बन्ध किन पुग्छ ह’त्यासम्म ?

काठमाडौं बालाजु तारकेश्वरका ४२ वर्षीय कुमार थापाले गत शुक्रबार ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको हत्या गरे। आपसी सम्बन्ध बिग्रिएपछि उनले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरू सम्बन्धबिच्छेदको अन्तिम चरणमा थिए। नेपाली सेनामा कार्यरत भुजेललाई कार्यालयमा आयोजित रात्रिभोजमा सहभागी भएर घर जाँदै गरेको अवस्थामा थापाले चक्कु हानेका थिए। गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याइए पनि जीवन बचाउन सकिएन।

भुजेलका दुई छोरा छन्। उनका पति थापा रेस्लिङ खेलाडी हुन्। पत्नीको हत्या आरोपमा थापालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। घटनामा संलग्न भएको आरोपमा अन्यलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, तारकेश्वर घटनाको दुई दिनअघि भक्तपुरको छालिङमा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले खुकुरी हानेर ३३ वर्षीया पत्नी सलिना तोलांगे विश्वकर्माको हत्या गरेका थिए।

उनले आफू बस्ने डेरामै पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट उनका आठ वर्षीय छोरा पनि घाइते भएका छन्।

यही जेठकै पहिलो साता हेटौंडा उपमहानगरपालिका चौकीटोल–१ बस्ने ४२ वर्षीया ओमकुमारी भुजेलको पतिको कुटपिटबाट ज्यान गएको थियो। पति रामलाल ब्लोनको कुटपिटबाट गम्भीर घाइते बनेकी भुजेलको उपचारका क्रममा मृत्यु भएको थियो।

हत्या आरोपमा प्रहरीले ब्लोनलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ।

जेठकै पहिलो साता झापा हल्दीवारीमा ४४ वर्षीय गोकर्ण भण्डारीले धारिलो हतियार बाम्फोक प्रहार गरी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीको हत्या गरे। पत्नी हत्या आरोपमा प्रहरीले भण्डारीलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।

त्यस्तै वैशाख अन्तिम साता गुल्मीका ४५ वर्षीय थमन कुमालले कुटपिट गर्दा ४३ वर्षीया पत्नी एमी कुमालको ज्यान गयो। कुटपिटबाट गम्भीर घाइते एमीको तम्घासस्थित अस्पतालमा उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो। हत्या आरोपमा थमनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ।

उल्लिखित घटना दृष्टान्त मात्र हुन्। पछिल्ला वर्षमा पतिबाट पत्नी मारिने घटना बढ्दै गएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।

प्रहरी तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता पतिबाट पत्नी मारिएका ६८ वटा घटना भएका छन्। यस अवधिमा पत्नीबाट पति पनि मारिएका छन्। यस्ता घटना सातवटा भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६९ जनाको पतिबाट हत्या भएको तथ्यांक छ। त्यस्तै सोही आवमा पत्नीबाट पति मारिएका १६ वटा घटना भएका थिए। यो तथ्यांक केलाउँदा पछिल्ला २३ महिनामा १३७ जना (पत्नी) को हत्या पतिबाट र २३ जना (पति) को हत्या पत्नीबाट भएको छ। हत्या पति–पत्नीमा मात्र सीमित छैन।

चालु आर्थिक वर्षको हालसम्म १४२ जनाको आफन्तबाटै हत्या भएको छ। यसै अवधिमा छोराछोरीबाट आमाबुबाको पनि हत्या भएको छ। छोराछोरीबाट हत्या हुने बाबुआमाको संख्या १४ छ।

प्रहरी तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म देशभरि ४२९ जनाको हत्या भएको छ। यस अवधिमा २५३ पुरुष, १४४ महिला, १८ बालक र १४ बालिकाको हत्या भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५२२ जनाको हत्या भएको थियो।

यसरी ज्यान गुमाउनेमा २९६ पुरुष, १६५ महिला, २६ बालक र ३५ बालिका छन्। सोही वर्ष छोराबाट १९ जना आमाबुबा र आमाबुबाबाट १४ जना छोराछोरीको हत्या भएको थियो।

दुई आर्थिक वर्षको हत्या घटना विवरण केलाउँदा सबैभन्दा धेरै हत्या पतिबाट पत्नीको भएको देखिन्छ। नेपाल प्रहरीका सहप्रवक्ता दीपशमशेर राणाका अनुसार पछिल्लो समय दम्पत्तिबिचको झगडा, विवाहइतर सम्बन्ध, मादक, लागु पदार्थ सेवन जस्ता कारणले हत्यासम्मका घटना हुने गरेका छन्।

वैदेशिक रोजगारीका कारणले निम्ताएको पारिवारिक विखण्डन, एकल परिवार, आर्थिक तथा सामाजिक संरचनामा आएको परिवर्तनले परिवारपरिवारमा तनाव र बेमेलका घटना बढेका छनु। तनाव र झगडा बढ्दै जाँदा हत्यासम्मका घटना निम्तिएका छन्। झगडा र तनावले व्यक्तिलाई विध्वंसतिर पुयाउने गरेको सहप्रवक्ता रणा बताउँछन्।

‘पितृसत्ताले निम्ताउँदै हिंसा’ 

समाजशास्त्री तथा मानवशास्त्री डा. जनककुमार राई पछिल्लो समयमा पतिबाट पत्नी हत्या घटना बढ्नुमा समाजमा कायम विषाक्त पितृसत्ता मूल कारण रहको बताउँछन्।

उनी भन्छन, ‘पुरुष रिसाहा, घमण्डी भएर हैन, उसमा निहित विषाक्त पितृसत्ताका कारण हत्याका घटना हुने गरेका छन्।’

अहिलेका महिलाले आफूमाथि हुने थिचोमिचोको प्रतिवाद गर्न थालेका छन्। प्रतिवादका क्रममा पनि महिलामाथि हिंसा हुने गरेको छ। जुन प्रतिवाद पितृसत्तात्मक मानसिकताका लागि असह्य हुँदा हत्यासम्मका घटना हुने गरेको उनी बताउँछन्।

‘शारीरिक हिंसाबाट महिलालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने सोच जुन पुरुषमा हुन्छ, त्यसले हत्याको रुप लिनसमेत पुग्छ’, उनले सुनाए।

सामाजिक सञ्जाल, आर्थिक संरचना, सामाजिक संरचना र राजनीतिक संरचना पनि महिलामाथि हिंसा र हत्याको अर्को कारण रहेको राई बताउँछन्।

‘अधिकारका लागि बोल्ने महिलाप्रति सामाजिक सञ्जालमा हुने टिप्पणी पनि पितृसत्तात्मक सोचको उपज हो, जुन अन्यायपूर्ण देखिन्छ’, उनले भने, ‘महिला अधिकारका पक्षमा निर्मित कानुन पालना गर्न नचाहने प्रहरी, समाज र राज्य सबैको कमजोरीका कारण समतामूलक समाज निर्माणमा बाधा परिरहेको छ, जसमा सबै दोषी छन्।’

यस्तो हिंसा नियन्त्रणमा लिन समतामुखी कानुनी अभ्यास, सचेतना, समतामूलक आर्थिक र सामाजिक संरचनाको निर्माणमा अझै पनि व्यापक सुधार आवश्यक रहेको राई ठान्छन्। ‘स्वस्थ समाजमा मात्र मानिस शान्त बन्छन्’, उनले भने।

गलत सम्पर्क र बदलिँदो परिवेशवरिष्ठ

मानसिक रोग विशेषज्ञ डा. सरोज वझाले बदलिँदो सामाजिक, आर्थिक परिवेश र वंशाणुगत रुपमा विकसित व्यक्तित्वको समस्याका कारण मानिस प्रतिशोध र कुटपिटजन्य क्रियाकलापमा सहभागी हुँदा हत्या भएको देखिने बताए।

बदलिँदो समाजसँगै मानिसमा विकसित तीव्र भौतिक चाहना, देखासिकी, तनाव जस्ता कारणले परिवारमा विखण्डन आउँदा हत्याहिंसाका घटना बढेको वझा बताउँछन्। ‘सामाजिक, आर्थिक परिवर्तन जुन रुपमा भएको छ, त्यही रुपमा मानिसको चाहना, इच्छा बढेर गएका छन्, जुन हिंसामा रुपान्तरण भएको छ’, वझाले भने।

वझाका अनुसार बाल्यकाल, गर्भदेखि १८ वर्षभित्रको वातावरणले मानिसको स्वभाव र व्यक्तित्व निर्माणमा भूमिका खेलेको हुन्छ। यो अवधिमा गलत वातावरण झेलेका, हिंसामा परेका बालबालिका पछि गएर बदलाको भावना राख्ने, आपसमा प्रतिस्पर्धा देखाउने, रिस, आवेग नियन्त्रण गर्न नसक्ने खालका हुन्छन्। यसको असर पतिपत्नीबिचको सम्बन्धमा पनि पर्छ। सम्बन्धमा चिसो आउन थालेपछि त्यो हत्याको स्थितिसम्म पुग्छ।

यसैकारण बच्चालाई गर्भदेखि परिवार, विद्यालय र समाजमा असल वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछन्। ‘बालबालिकालाई हुर्किने क्रममा सम्मानजनक व्यवहार, उचित आहारविहार दिएमा पछि गएर जटिल समस्या आउँदैन’, उनले भने।

मनोविद् पशुपति महतको विचारमा बढ्दो मदिरा सेवन, विवाहइतर सम्बन्ध, आर्थिक परिवेश, पारिवारिक विचलन, खण्डन जस्ता पक्षले मानिस हिंसात्मक बन्दै गएको छ। महतका अनुसार मदिरा, लागुपदार्थ सेवन गर्ने व्यक्तिमा झैझगडा गर्ने, कुटपिट गर्ने, शंका गर्ने स्वाभाव हुन्छ, जसले हिंसाको रुप लिन्छ।

वैवाहिक सम्बन्धले दबाबमा परेका व्यक्ति पनि पति वा पत्नीको हत्यामा पुगेको देखिन्छ। खासगरी पत्नीले सम्बन्धविच्छेदका लागि दबाब दिएमा पतिले हत्यासम्मको बाटो रोज्न पुग्छ। धेरै पुरुषहरु विवाहपछि पत्नीसँग सन्तुष्ट हुन नसकेमा अरुसँग सम्बन्ध राख्न पुग्छन्।

जुन कुरा पत्नीलाई स्वीकार्य हुँदैन। विवाद बढ्दै जाँदा हत्यासम्म पुग्ने उनले बताए।विवाहपछि दम्पत्तीले एकअर्कालाई समय नदिएमा पनि समस्या बढ्छ। पत्नीको महिनावारी सुकेपछि उत्पन्न यौन समस्याले पनि पुरुष पाको उमेरमा पनि नयाँ सम्बन्धमा पुग्ग्छन्। यस्ता सम्बन्धले पैसा र शक्तिको माग गर्ने हुँदा हिंसासम्मको बाटोमा पुर्‍याउँछन्। उनले भने, ‘यस्ता सम्बन्धको परिणाम मार्ने र मार्न लगाउने गरेको देखिन्छ।’

कतिपय कडा मानसिक रोग, गलत व्यक्तित्वको समस्या र हत्याको पृष्ठभूमिले पनि व्यक्तिलाई हत्या, हिंसामा पुयाउँछ। यस्ता व्यक्तिलाई पारिवारिक परामर्श थेरापी, हटलाइन सेवा, सचेतना दिएर शान्त पार्न सकिन्छ। विभिन्न थेरापी र औषधिबाट व्यक्तिको घमण्ड व्यवस्थापन, रिस, आवेग नियन्त्रण गर्न, मादक/लागु पदार्थ सेवनबाट छुटकारा दिलाउन सकिने मनोविद् महतको भनाइ छ।

प्रकाशित: २६ जेष्ठ २०८३ २१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App