सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आन्दोलनको बलमा बाहिर निकालेपछि देशभर करिब ६ हजार कैदीहरू जेलबाट भागेका छन् ।
सुरक्षाकर्मीहरुलाई धम्क्याउँदै उनीहरु भागेका हुन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ । साथै जुन अपराधको सजायमा कैद भुक्तान गरिरहेका कैदीहरु बाहिर आएपछि पीडितहरु घर छाडेर अन्यत्र भागिरहेका छन् ।
कानुनी दायरामा आएका धेरै जसो कारागारबाट बाहिर आएपछि समाज अर्को आतंकमा प्रवेश गरेको छ । यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली भएका कारण उनीहरु घर छाडेर हिँड्न बाध्य भएका छन् ।
राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूति हो । त्यो कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानुनी दायरामा ल्याइहाल्ने अवस्था छैन । कसैले तारो नबनाएकाहरू मात्र सुरक्षित छन् भने पनि हुन्छ । सरकारी संयन्त्रमध्ये शान्ति सुरक्षा प्राथमिक जिम्मेवारी गृह प्रशासन र अपराध नियन्त्रण प्रहरीको कार्यक्षेत्रमा पर्छ । देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् । प्रहरीले बोकेका हतियार भौतिक संरचना माथि धावा बोलिएको छ ।
अपराध नियन्त्रण, अनुसन्धान र उपचारात्मक सबै मोर्चामा प्रहरी/प्रशासन विफल भएको छ । सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको भारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् । अपराधीहरुले यही मौका पारेर थप अपराध गर्ने र इगो साँध्ने काम हुनसक्छ । मंगलबार दिनभरको दृश्य हेर्ने हो साना र स्वचालित हतियारको बोकेका धेरै मानिसहरु सडकमा थिए । ती मानिसहरु कहाँबाट आए भन्ने अहिलेसम्म एकिन भएको छैन ।
अदालत निसाना
छुटेका कैदीहरुले देशभरका अदालतलाई निशाना बनाउँदा प्राय सबै अदालत जलेका छन् । अब उनीहरुको निशाना न्यायाधीश र उजुरीकर्ता माथि प्रस्ट छ । सुरक्षा अवस्था प्राय शून्य भएको बेला समाज यस्तै आतंकले थप ध्वस्त हुने निश्चित देखिएको छ । रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको भनेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्ला निस्केर हिँडेका थिए ।
रविले आफू गृह सचिवको निर्णयमा छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । सञ्जय टक्ला निस्केपछि मधेशभर सर्वसाधारण आतंकित भएका छन् । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अहिले नख्खु कारागार नै पूरै खाली भएको छ । डिल्ली बजार कारागारका कैदीहरु आफैले आन्दोलन गरेर आगो लगाएपछि सेनाले बाध्य भएर छाडेको छ । डिल्ली बजार र नख्खुमात्र होइन देशभरका कारागारबाट कैदीहरु निस्केपछि अदालत, प्रहरी प्रशासन र पीडितहरुलाई निशाना बनाइरहेका समाचारहरु आइरहेका छन् ।
कैलाली कारागार पनि पूरै खाली छ । कास्की कारागारबाट पनि धेरै कैदीबन्दी भागेका छन् । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट म्याग्दी लगायतका सबैजसो कारागारबाट अपराधीहरु बाहिर आएका छन् । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा थ्रेट हुन थालेको छ ।
कहाँबाट कति
चितवन कारागारबाटः बाट ७ सय
नख्खु कारागारबाटः करिब १ हजार २ सय
सुनसरीको झूम्का कारागारबाटः १५ सय ७५
कञ्जनपुर कारागारबाटः ४ सय ५०
कैलाली कारागारबाटः ६१२
जलेश्वर कारागार बाटः ५ सय ७६
कास्की काराकारबाटः ७ सय ७३
दाङ कारागारबाटः १ सय २४
जुम्ला कारागारबाटः ३६
सोलुखुम्बू कारागारबाटः ८६
गौर कारागारबाटः २ सय ६०
बझाङ कारागारबाटः ६५
प्रकाशित: २५ भाद्र २०८२ १३:२४ बुधबार