समाज

चक्रवात 'मोन्था'को जोखिम कुन प्रदेशमा बढी ?

बंगालको खाडीमा विकसित भएको 'मोन्था' चक्रवातको असर नेपालमा शुक्रबारसम्म कायम रहने भएको छ। भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको 'मोन्था'को आंशिक प्रभाव परेको कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

'मोन्था' चक्रवात हाल कमजोर भएर न्यून चापीय क्षेत्रका रूपमा रहे पनि यसको असरले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने र कोशी र मधेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बताएका छन्। ‘बङ्गालको खाडीमा विकसित भएको मोन्था चक्रवातको कारण नेपालको कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानसहित गण्डकी प्रदेश, मधेस प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन्छ। प्रमुख नदीमा पानीको बहाव पनि बढ्ने सम्भावना छ। आकाश पूर्ण रूपमा खुलेर घाम लाग्न अझै केही दिन लाग्छ,’ उनले भने।

मौसमविद् डा.धर्मराज उप्रेतीका अनुसार चक्रवातको मुख्य केन्द्र भारतको बिहार हुँदै पश्चिम बंगाल सिक्किम तर्फ जाँदै गरेकाले नेपालमा भारतमा जस्तो ठूलो जोखिम नभए पनि कोशी प्रदेश र मधेश प्रदेशको केही भागमा जोखिम कायम रहेको बताएका छन्। चक्रवातको बाहिरी घेराको प्रभाव पूर्वी नेपालमा बढी देखिनुको साथै कोशी र मधेश प्रदेशका केही भागमा मध्यमदेखि भारी वर्षा सक्रिय रहने र दिनभरि जस्तै वर्षा हुने सम्भावनाले ती क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणदेखि अधिकांश बदली रहेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ०९:२८ शुक्रबार