समाज

माैसम कहिलेदेखि खुल्छ ?

आइतबारदेखि मौसम क्रमशः खुल्ने सङ्केत देखिएको मौसमविद्ले बताएका छन्। 

आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा, हिमपात, हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विभाग विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने सङ्केत देखिएको हो। 

आज राति पानी पार्ने र हावाहुरी चल्ने प्रणाली अझ सक्रिय हुने देखिएको महाशाखाले जनाएको छ। कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

यस्तै शनिबार दिउँसो पनि देशभर बदली हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि राति भने मौसम केही सुधार हुँदै सीमित स्थानमा हल्का वर्षामात्र हुने अनुमान गरिएको छ।

पर्सि आइतबार भने पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। राति पनि अधिकांश स्थानमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने माहाशाखाको पूर्वानुमान छ। 

प्रकाशित: ६ चैत्र २०८२ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App