समाज

आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारे के भन्छ प्रहरी प्रधान कार्यालय ?

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार सार्वजनिक भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाएको हो।

प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम फैलिने र प्रहरी संगठनप्रतिको विश्वासमा असर पर्न सक्ने बताएको छ। यस्ता अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न पनि प्रहरीले आग्रह गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ।

'नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध छ,' विज्ञप्तिमा भनिएको छ।

प्रहरीले संगठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउने व्यक्तिमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०६:५२ शुक्रबार