सरकारले आगामि आर्थिक वर्ष २०८२/८३ मा संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड र नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड विनियोजन गरेको छ।
वजेट भाषणा गर्दै अर्थ मन्त्री डा.स्वर्णीम वाग्लेले ऐतिहासिकस्थलहरू तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्ने बताएका छन्। उनले बृहत लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड विनियोजन गरेका छन्।
सरकारले जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ्ग गर्ने घोषणा गरेको छ। यसैगरी रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छ।
अर्थमन्त्री वाग्लेले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहाडी क्षेत्रमा हिल स्टेसनको प्रवद्र्धन गर्न पूर्वाधार विकासमा जोड दिएका छन्। साथै हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउने प्रतिबद्धता गरेका छन्। वजेट भाषण गर्दै वाग्ले भने, ‘मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका दुईसय वर्षभन्दा पुराना कम्तीमा पनि दुई दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरुको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ।’
वजेट भाषणमा कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाण्डौको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढाउने घोषणा सरकारले गरेको छ। यसैगरी खप्तड–बडिमालिका–शुक्लाफाँटा, काँक्रेविहार–पञ्चकोशी–रारा, ठाकुरद्बार–स्वर्गद्बारी–रूरू क्षेत्र, देवघाट– मुक्तिनाथ–तिलिचो, कालिञ्चोक–जुगल–गोसाइकुण्ड, सखडा–धनुषाधाम–गढीमाई, हलेसी–चतरा– पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवद्र्धन गर्ने घोषणा सरकारले गरेको छ।
यसैगरी वजेट भाषणमार्फत सरकारले ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रुपमा र। खप्तड– रामारोशन– बडिमालिका– बुढिनन्दा– रारा– स्वर्गद्धारी– मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या–पर्यटन पदमार्ग (डाँफे रूट) को विकास गर्ने बताएको छ।
यसैगरी अपि हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ, तीनजुरे–पाथिभरा ट्रेकिङ रुट विकास गर्ने घोषणा गरिएको छ। वजेट भाषण गर्दै वाग्लेले भने, ‘साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्यपहाडमा परीक्षणका रुपमा कास्की लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी (प्रिन्स चाल्र्स रुट हुँदै करापुसम्म) र ब्यास– छाब्दी बाराही–बन्दीपुर– छिम्केश्वरी–लाब्दी–देवघाट रुट निर्माण गर्नेछौँ।’
यसैगरी वजेट भाषणमार्फत् सरकारले आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुरस्थित संग्राहलयको विस्ता गर्ने बताएको छ। यसैगरी दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेशाको प्रवद्र्धन गर्न मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ।
यसैगरी छ हजार मिटरभन्दा बढी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्ने सरकारले बताएको छ।
यसैगरी सरकारले नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन गरेको बताएको छ । साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकीन गर्ने बताइएको छ। वजेट भाषणमार्फत सरकारले गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताएको छ।
सरकारले भरतपुर विमानस्थललाई विस्तार गरी रात्रीकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्ने र मुगुको ताल्चा तथा दाङ्गको टरिगाँउ विमानस्थल स्तरोन्नति गर्ने बताएको छ।
प्रकाशित: १६ जेष्ठ २०८३ ०९:३० शनिबार