नेपालका लागि इजरायली राजदूत शुलिक ए. बासले गत वर्ष हमासले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूको सम्झनामा काठमाडौंंस्थित इजरायली दूतावासमा एक स्मारक स्थापना गर्ने घोषणा गरेका छन्।
उनले सन् २०२३ अक्टोबर ७ को दिनलाई इजरायल र नेपाल दुवैका लागि कालो दिनको रूपमा चित्रण गरे। ‘त्यस दिन, राम्रो भविष्य निर्माण गर्ने, उच्च शिक्षा हासिल गर्ने र आफ्ना सपना पूरा गर्ने आशा बोकेर इजरायल आएका नेपाली विद्यार्थीहरू भयानक हिंसाबाट प्रभावित भए,’ उनले भने, ‘उनीहरूको प्रगतिको यात्रा क्रूरतापूर्वक चकनाचुर पारियो।’
राजदूत बासले ती विद्यार्थीहरूको साहसलाई सधैं सम्झिरहने बताए। आफ्नो कार्यकालको पहिलो वर्षमा उक्त त्रासदीबाट प्रभावित ११ परिवारमध्ये ६ परिवारलाई भेटिसकेको र बाँकी परिवारलाई पनि आगामी हप्ताहरूमा भेटेर दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
राजदूत बासले नेपाली विद्यार्थी र कामदारहरूलाई शिक्षा र रोजगारीका लागि इजरायल आउन प्रोत्साहन गरे। उनले इजरायलमा तालिम लिएका धेरैले नेपालको विकासमा आफ्नो ज्ञान प्रयोग गर्न थालिसकेको उल्लेख गर्दै कृषि विद्यार्थीहरूलाई आदानप्रदान कार्यक्रममा सहभागी गराउन विश्वविद्यालयका प्रमुखहरूलाई आग्रह गरे।
मारिएका विद्यार्थीहरूको सम्मानमा दूतावासमा स्थापना गरिने स्मारक उनीहरूको साहस र सपनाको स्थायी श्रद्धाञ्जली हुने उनले बताए।
उनले भने, ‘हामी ती नेपाली विद्यार्थीहरूलाई कहिल्यै बिर्सने छैनौं जो सिक्न, बढ्न र राम्रो नेपाल निर्माण गर्ने ज्ञान लिएर घर फर्कने आशाका साथ इजरायल आएका थिए।’
प्रकाशित: १३ कार्तिक २०८२ २०:०० बिहीबार