सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भदौ २४ गतेको जेनजी आन्दोलन र त्यसताका भएका प्रदर्शनबाट सुरक्षा फौजले भिड नियन्त्रणबारे धेरै नयाँ पाठ सिकेको बताएका छन्।
बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुराकानी गर्दै उनले प्रदर्शनका क्रममा नागरिकको ज्यान जान नदिन गैरघातक हतियार र सुरक्षा उपकरणको व्यवस्थापन अपरिहार्य रहेको बताए।
महानिरीक्षक अर्यालले भिड नियन्त्रणका क्रममा गोली नै चलाउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सरकारलाई सुझावसमेत दिएको सुनाए।
‘भदौ २३ र २४ को आन्दोलनबाट हामीले धेरै सिक्यौं,’ उनले भने, ‘सुरक्षा फौजलाई ढुंगा, इँटा वा रड हान्दा बच्ने राम्रो उपकरण (जस्तैः शिल्ड, बडी प्रोटेक्टर) दियो भने उनीहरू सुरक्षित महसुस गर्छन् र भिडमाथि घातक हतियार चलाउनुपर्दैन।’
मानिसको ज्यान जानु सामान्य विषय नभएको भन्दै उनले भिड नियन्त्रण गर्ने अत्याधुनिक सामग्री र प्रविधिलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
पर्याप्त सुरक्षा उपकरण अभावमा प्रदर्शनकारीले आक्रमण गर्दा सुरक्षाकर्मीकै ज्यान जोखिममा पर्ने र प्रतिरक्षाका लागि बल प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने उनको भनाइ छ।
आन्दोलन र प्रदर्शनका नियमबारे सुरक्षा फौजले मात्र नभई आम नागरिकले पनि सिक्न जरुरी रहेको उनले औंल्याए। ‘निषेधित क्षेत्र भनेको के हो ? कर्फ्यु लागेको बेला के गर्न हुन्छ र के हुँदैन भन्ने कुरा प्रदर्शनकारी र नागरिकलाई पनि बुझाउनुपर्छ,’ उनले भने।
दुवै पक्ष सचेत भएमा मात्र आन्दोलनका क्रममा हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उनले बताए।
सीमित बजेट र स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरीले शान्ति सुरक्षामा काम गरिरहेको उनले बताए। राज्यले दिने बजेटलाई ‘एक गिलास पानी’ सँग तुलना गर्दै उनले भने, ‘एउटा गिलासमा पानी दिएर यसैबाट सबै कुरा गर भनिन्छ, प्रविधि र उपकरणमा लगानी नगरी अपेक्षित नतिजा निकाल्न कठिन हुन्छ।’
प्रकाशित: १६ वैशाख २०८३ १९:५२ बुधबार