समाज

मन, विचार र दृष्टिकोणमा हामी कोहीभन्दा कम छैनौं: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मन, विचार र दृष्टिकोणका हिसाबले आफ्नो पार्टी कोहीभन्दा कम नरहेको दाबी गरेका छन्।

तनहुँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरू भविष्यमा पनि कोहीभन्दा कम नहुने बताए।

प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म तथा भावनाअनुसार अघि बढ्न सबैलाई प्रतिबद्धता र प्रतिज्ञा गर्न आग्रह गरे।

‘मनले, विचारले, दृष्टिकोणले हामी कोहीभन्दा कम छैनौं र हुनेवाला पनि छैनौं,’ उनले भने, ‘शान्ति सम्झौताको मर्म र भावना तथा संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्ने हामी सबैले प्रतिबद्धता र प्रतिज्ञा गरौं।’

शान्ति सम्झौताका बाँकी काम टुंग्याउने, सुशासन कायम गर्ने, न्याय स्थापित गर्ने र समृद्धिको समाजवादी यात्रा आरम्भ गर्ने संकल्प गरेको पनि उनले बताए।

शान्ति सम्झौता र संविधानको भावनाअनुसार अघि बढ्दा शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म भूमिका खेल्ने अग्रज नेताहरूप्रति सम्मान प्रकट हुने प्रचण्डको भनाइ छ।

त्यसबेलाका नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला अहिले नरहेको स्मरण गर्दै उनले आफू र माधवकुमार नेपाल जीवितै रहेको र उनीहरूप्रति पनि सम्मान व्यक्त गर्नुपर्ने बताए।

प्रकाशित: ८ मंसिर २०८३ १९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App