समाज

‘मौसमी जोखिमबाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा छौँ ’

कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताएका छन्। 

कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको बैठकको निर्णयको निर्देशनअनुसार मौसमी विपद् जोखिमबाट क्षति हुन नदिन सबै प्रमुख जिल्ला अधिकारीहरू उपलब्ध जनशक्ति तथा साधनस्रोतसहित पूर्वतयारी अवस्थामा रहेका छन्। 

उनीहरूका अनुसार बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट सतर्क रहन हरेक दिन सर्वसाधारणलाई सूचना गर्ने गरिएको छ। डोल्पा तथा हुम्लाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र भोलानाथ गुरागाईंले बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताएका छन्। 

भेरी तथा कर्णाली नदीको बहाव सामान्यतया बढेपनि त्यस्तो जोखिम नरहेको बताउँदै सम्भावित जोखिमबाट बच्न नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उनीहरूले बताएका छन्। 

मुगु तथा कालिकोटका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारी र झविलाल भट्टराईले यहाँका भिरालो बस्तीहरू बढी जोखिममा रहेकाले बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताएका छन्। मुगु प्रजिअ भण्डारीका अनुसार उच्च भागमा हिमपात र तल्लो भागमा मध्यम वर्षा भइरहेको छ। 

कालिकोट प्रजिअ भट्टराईले रातभरि बढी हावा चलेको, कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक बन्द भएको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जानकारी दिएका छन्। 

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सिञ्जाको हिमनदी किनारका जोखिम बस्ती व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गरिएको बताएका छन्। लेकमा हिमपात र बेँसीमा सामान्यतया वर्षा भइरहे पनि ठूलो असर भने नगरेको उनले बताएका छन्। 

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका सडकमा पहिरो जाने जोखिम देखिएकोले उक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिएका छन्। उनका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ दैलेखका पहिरो प्रभावित परिवारलाई नजिकैको विद्यालयमा आश्रयको व्यवस्था गरिएको छ। 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले हालसम्म अवस्था सामान्य रहेपनि जाजरकोट पहिरोको उच्च जोखिम क्षेत्र भएकाले सम्भावित जोखिमबाट क्षति हुन नदिन सबै संयन्त्र तयारी अवस्थामा राखिएको बताएका छन्।

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ठूलो तथा सानो भेरी आसपासमा पानीको बहाव बढेर क्षति हुने जोखिम देखिएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना गरिएको बताएका छन्। जोखिमबाट बचाउन आठबीसकोट नगरपालिकाको गोतामकोटमा अस्थायी बसोबासका लागि क्षेत्र छुट्याइएको उनले बताएका छन्। 

सल्यानका प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुल्सीपुर सडकमा पहिरो बढी गएको भन्दै सो क्षेत्रमा जोखिम धेरै रहेकाले दिउँसोको समयमा पनि सवारी आवागमन बन्द गरिएको जानकारी दिएकी छन्। पहिरो पन्छाएर एम्बुलेन्स र विद्युत् जस्ता अति आवश्यक गाडी मात्र जान दिइएको उनले बताएकी छन्। 

त्यस्तै, सल्यानको दार्मा, कुमाख, कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकामा स्क्रबटाइफसको सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य सेवा महाशाखामा अध्ययन तथा अनुसन्धानका लागि विज्ञसहितको टोली पठाउन केन्द्रमा अनुरोध गरिएको थियो। टोली आउन तयार भए पनि पानीका कारण रोकिएको उनले बताएकी छन्। 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सुर्खेतमा पहिरो, बाढीको जोखिम, जनसङ्ख्याको चाप र राजमार्ग सवारी आवागमनलाई ध्यानमा राखेर सबै सरोकार भएका निकायलाई तयारी अवस्थामा राखिएको बताएका छन्। 

मौसमी विपद् जोखिमका कारण हुने दुर्घटनाबाट नागरिकको जीउज्यान सुरक्षा गर्न सबै सुरक्षा निकाय, प्रदेश अस्पताल, रेडक्रस, गैरसरकारी संस्थासहित उपकरण र जनशक्ति तयार रहेको उनले जनाएका छन्। 

कर्णालीमा असोज ८ गते बेलुकादेखि ११ गतेसम्म रात्रिकालीन सवारी आवागमन पूर्ण बन्द गरिएको छ भने लामो दूरीका सवारीसाधन पनि सञ्चालन भएका छैनन्। नागरिकलाई तत्काल आश्रयका लागि सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकी, वडा तथा पालिका क्षेत्र तोकिएको उनले बताएका छन्।  

सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, जिल्ला आपतकालीन सञ्चालन केन्द्र, अस्पताल, नेपाल रेडक्रस, गैरसरकारी संस्थालगायतलाई तयारी अवस्थामा राखिएको बताएका छन्।

यता, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले असोज ८ गते बेलुकादेखि ९ गते रातिसम्म आएको वर्षाले कर्णाली करिडोर तथा राजमार्ग, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–सल्यान सडक, लुहाम–कालीमाटी सडकखण्ड पहिरोका कारण बन्द भएको जानकारी दिएका छन्। 

प्रकाशित: १० आश्विन २०८३ १५:०३ शनिबार