समाज

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।

गण्डक ब्यारेजका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९ दशमलव ४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६।८० फिट मापन भएको छ। 

ब्यारेजमा ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिँदै आएको छ। हालको बहाव उक्त सीमाभन्दा २६ हजार ४ सय क्युसेक कम छ। 

यसैबीच, नेपालतर्फ देवघाटमा शनिबार बिहान ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। देवघाटमा नदीको बहाव बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न सक्ने बताइएको छ। 

देवघाटबाट गण्डक ब्यारेजतर्फ पानीको बहाव बढ्दै गएमा ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह र बहाव थप बढ्न सक्ने जोखिम छ। 

प्रकाशित: १० आश्विन २०८३ १३:२० शनिबार