विश्वव्यापी रूपमा मार्च महिनाको तेस्रो साता मनाइने जल सप्ताहअन्तर्गत नेपालमा ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६’ सुरु भएको छ।
नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। यसै क्रममा जल तथा मौसमविद् समाज–नेपालको तत्त्वावधानमा एभरेष्ट इन्जिनियरिङ कलेज, ललितपुरमा दुई दिने जीआईएस (भौगोलिक सूचना प्रणाली) तालिम बुधबारदेखि सुरु भएको हो।
तालिममा १३ जना महिला र १२ जना पुरुष गरी २५ जना प्रशिक्षार्थी सहभागी छन्। उनीहरू बिहीबार दीक्षित हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
भौगोलिक योजना निर्माण, स्थानविशेषको भू–धरातलीय विशेषताअनुसार तथ्याङ्क विश्लेषण तथा त्यसका परिणामलाई सहज रूपमा नक्सामार्फत प्रस्तुत गर्न प्रयोग हुने जीआईएस प्रविधि पानी, हिमनदी तथा मौसम विज्ञानसँग सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको जनाइएको छ।
जल तथा मौसमविद् समाज–नेपाल, द स्मल अर्थ–नेपाल र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सेमिनार हलमा कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रमको सुरुवातमा द स्मल अर्थ–नेपालका तर्फबाट त्रिविक्रम बस्नेतले यसको महत्वबारे प्रकाश पारेका थिए। जल तथा मौसमविद् समाज–नेपालका अध्यक्ष तथा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले जीआईएस सफ्टवेयर स्नातक तथा स्नातकोत्तर तहका थेसिस तयारी र भू–धरातलीय यथार्थमा आधारित तथ्याङ्क विश्लेषणका लागि अत्यन्त उपयोगी भएको उल्लेख गर्दै सहभागीलाई प्राप्त सीपको अधिकतम उपयोग गर्न सुझाव दिए।
तालिमका प्रमुख स्रोत व्यक्ति नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक डा. रघुनाथ प्रजापति रहेका छन्।
प्रकाशित: ४ चैत्र २०८२ २०:५० बुधबार