समाज

आज राति गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको चेतावनी, हावाहुरीको पनि सम्भावना

मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ‘अति भारी’ वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले ती क्षेत्रमा सम्भावित विपद्को तत्काल प्रतिकार्य गर्न तयार रहन सूचित गरेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ।

वर्षासँगै देशका अधिकांश भू-भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको उच्च जोखिम छ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा समेत हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका धेरैजसो भू-भागलाई रातो संकेत (प्रतिकार्य गर्ने) मा राखिएको छ भने सुदूरपश्चिम, कर्णाली र बागमतीका भू-भागलाई सुन्तला रङ (सतर्क रहने) मा वर्गीकरण गरिएको छ।

अति भारी वर्षा र हावाहुरीका कारण बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १० आश्विन २०८३ १८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App