समाज

जडीबुटीखेतीबाट वार्षिक सात लाखसम्म कमाउँछन् वडाध्यक्ष शेर्पा

भोजपुरको षडानन्द नगरपालिका- १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुन्। उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन्। थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए।

आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उनको भनाइ छ। आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराइतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदो लगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए।

जनताको सेवापछि बचेको समय जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ। “जनताको सेवाबाट बेचेको समय जडीबुटी खेतीमा लगाउने  गर्छु” वडाध्यक्ष शेर्पाले भने,“जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु। गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ। अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ।”

आर्थिक रूपमा सक्षम बन्न राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए। फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टो लगायत बिक्री गर्दै आएको उनको भनाइ छ। तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भएकाले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ।

“उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन” उनले भने, “जडीबुटी खरिदका लागि घरमा नै ठेकेदार आउँछन्। हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन्। औसत यहाँका एक किसानले वार्षिक दुई लाखदेखि दश लाख रूपैयाँसम्मको जडीबुटी बेच्छन्।”

पराम्परागत बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाए। दश हजारको अन्य बाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट ५० हजार रूपैयाँसम्म आम्दनी लिन सकिने उनको भनाइ छ।

आफूले सिकेको सीप जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनको भनाइ छ। वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरूका लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।

आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामा समेत निर्यात हुने गरेको शेर्पाले बताए। “मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ” उनले भने,“आफूले सिकेको सीप स्थानीयलाई पनि बाँड्ने गरेको छु। म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौं।”

आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उनको भनाइ छ। राजनीति सेवा भएकाले आर्थिक रूपमा सबल बन्न पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले बताए। 

प्रकाशित: २ भाद्र २०८२ ०८:५० सोमबार