समाज

खोला करिडोर विवाद: कुटपिट आरोपमा तारकेश्वर-११ का वडाध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

खोला करिडोर विवादमा झडप भएको विषयमा तारकेश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई दिनेश श्रेष्ठमाथि कुटपीट भएको उजुरीको आधारमा पक्राउ गरिएको हो।

उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछि भएको झडमा जोडिएको छ। शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो।

सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए। काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो।

सो क्रममा २३ असारमा झडप हुँदा श्रेष्ठको टाउकोमा गम्भीर चोट समेत लागेको थियो। श्रेष्ठले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए। सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए। प्रहरीका अनुसार १३ जनाविरुद्ध जाहेरी आए थियो।

करिडोरमा भएको एक झडपमा घाइते भएका पीडितका आफन्तहरुले प्रहरीले जाहेरी लिन नमानेको भन्दै गुनासो गरेका थिए।

गोरखा आरुघाट गाउँपालिका आरुचनौटे-९ घर भई हाल कामनपा-१६ बसन्तनगर बस्ने ३९ वर्षिय दिनेश श्रेष्ठमाथि भएको आक्रमणको विषयमा प्रहरीले जाहेरी लिन आनाकानी गरेको गुनासो गरेपछि प्रहरीले सक्रियता बढाउदा वडा अध्यक्ष बस्नेतसहित पक्राउ परेका हुन्।

प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि पीडितहरुले हुलाका मार्फत प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएको बताएका छन्।

घाइते श्रेष्ठमाथि काठमाडौं तारकेश्वोर नगरपालिका ११ का वडा अध्यक्ष कविराज बस्नेत सहितका केही व्यक्तिहरुले ढुंगा प्रहार गरी घाइते बनाएको उजुरीमा उल्लेख थियो।

उनको टाउकोमा गहिरो चोट लागेको र उपचारका लागि विदेश लैजानुपर्ने अवस्था रहेको घाइतेका काका रोशन श्रेष्ठले बताएका छन्। घाइते नेपाली कांग्रेस आरुघाट काठमाडौं सम्पर्क समितिका उपाधक्ष्य रोशन श्रेष्ठको भतिज रहेका छन्।

उनीमाथि आक्रमण भएपछि असार २५ मा प्रहरी वृत बालाजुमा जाहेरी दिन गएका थिए। तर त्यहाँ दर्ता नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाँदा पनि बालाजु वृत्तमै दर्ता गर्नु भनेर फर्काइएको थियो।

त्यसपछि पीडितहरुले असार २९ मा हुलाक कार्यालय मार्फत प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई जाहेरी दर्ताको लागि पठाइको थियो। त्यसपछि साउन ५ मा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयबाट जाहेरी दर्ता गर्नु आदेश दिएको थियो।

प्रकाशित: २० श्रावण २०८२ १६:३१ मंगलबार