समाज

१२ दिनदेखि उद्धारको पर्खाइमा

तस्बिर: ट्रेकिङ इन नेपाल

बूढीगण्डकी नदीको बीचमा रहेको सानो टापुमा फसेको एउटा कुकुर १२ दिनदेखि उद्धारको पर्खाइमा छ । नदी पार गर्न नसकेपछि टापुमै थुनिएको कुकुर भोकै रहेको स्थानीयले बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–३, जगत बजार र धार्चे गाउँपालिका–१, ठाडोभीर्याङ जोड्ने क्षेत्रनजिकै बूढीगण्डकी नदीको बीचमा रहेको टापुमा कुकुर फसेको हो । स्थानीयका अनुसार यो कुकुर ठाडोभीर्याङका कमल कार्कीको हो ।

जङ्गलतिर गएको कुकुर नदीको बीचमा रहेको टापुमा पुगेपछि बाहिर निस्कन नसकेको बताइएको छ । मनास्लु पदमार्गमा हिँड्ने पर्यटकले समेत पछिल्लो १२ दिनदेखि कुकुरलाई त्यही टापुमा देख्दै आएको स्थानीयको भनाइ छ ।

नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन । लामो समयदेखि खाना नपाएको कुकुरको अवस्था दयनीय बनेको भन्दै स्थानीयले तत्काल उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

स्थानीय कुशल घलेले कुकुरलाई तत्काल उद्धार गर्न अपिल गरेका छन् । नदीमा डुङ्गाको व्यवस्था गरेर उद्धार गर्न सकिने भन्दै उनले सुरक्षाकर्मीसँग उपलब्ध डुङ्गासमेत प्रयोग गर्न सकिने बताएका छन् ।

उक्त क्षेत्रमा केही बाख्रासमेत फसेको स्थानीयले बताएका छन् ।  

नदीको बीचमा फसेको कुकुरको उद्धारमा ढिलाइ भइरहँदा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि भोकै रहेको जनावरको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धारको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित: ११ कार्तिक २०८३ १६:०० बुधबार