निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।
निर्वाचनको मिति घोषणा भएसँगै स्थगित भएको मतदाता दर्ता प्रक्रियालाई आयोगले कार्तिक ३० गतेसम्मका लागि पुनः खुला गरेको हो। आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै, यसअघि नामावलीमा नाम दर्ता गर्न छुटेका १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकहरूले यो अवसरको सदुपयोग गर्न सक्ने जनाएको छ।
आयोगका अनुसार, सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिनेछ।
नामावली दर्तालाई सहज बनाउन अनलाइन प्रि-रजिस्ट्रेसन प्रणाली पनि सञ्चालनमा ल्याइएको उल्लेख छ। आयोगको वेबसाइट applyvr.election.gov.np मार्फत अनलाइन आवेदन भरेर तोकिएको कार्यालयमा गई आफ्नो जैविक विवरण (Biometric) उपलब्ध गराउनुपर्नेछ।
यो कार्यक्रम नयाँ मतदाताका लागि मात्र नभई पहिले नै दर्ता गराइसकेका तर विवरणमा त्रुटि भएका मतदाताका लागि पनि हो। विज्ञप्ति अनुसार, विवाह वा बसाइँसराइ गरी अन्यत्र गएका मतदाताले आफ्नो ठेगाना सार्न (ठाउँसारी गर्न) तथा नाम, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउन सक्ने व्यवस्थासमेत मिलाइएको छ।
आयोगले कार्तिक ३० गतेसम्म १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो नाम दर्ता तथा विवरण अद्यावधिक गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न अनुरोध गरेको छ।
प्रकाशित: ९ आश्विन २०८२ १८:०२ बिहीबार