समाज

सतर्कता केन्द्रको अनुगमन तीन गुणाले बढाइयो, ११ हजार बढी कर्मचारी कारबाहीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता तथा आचारसंहिता उल्लंघन नियन्त्रण गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ।

केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो।

यस अवधिमा केन्द्रले सरकारी कार्यालयको अनुगमनसमेत उल्लेख्य रूपमा बढाएको छ। गत चैतदेखि साउनसम्म ९२४ वटा कार्यालयमा अनुगमन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ३१८ वटा अनुगमनको तुलनामा झन्डै तीन गुणा बढी हो।

अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ गरी कुल ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ३१८ कार्यालयको अनुगमन गर्दा २ हजार ७७५ जना कर्मचारी कारबाहीमा परेका थिए।

केन्द्रले सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्ति रहेकोबारे सूचना भए केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ। यस्ता सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिने केन्द्रले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८३ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App