समाज

भियतनामी उपराष्ट्रपति मध्यरात स्वदेश फिर्ता

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी थिइन्।

उपराष्ट्रपति सुआनलाई आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरेका हुन्।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए। यस्तै, उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेका थिइन्।

यही भदौ ७ गते नेपाल भ्रमणमा आएका उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन्। नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरेकी थिइन्। 

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। रासस

प्रकाशित: १० भाद्र २०८२ ०६:२५ मंगलबार