समाज

पीडितले अझै पाएनन् सरकारी राहत

फाइल फाेटाे

रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोसी–त्रिशूली नदीमा विनाशकारी बाढी आएको बिहीबार ९३ दिन पुग्दै छ। यस अवधिमा सरकारले बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गर्ने कानुनी तथा नीतिगत बाटो खुलाए पनि पीडितको हातमा अझै सरकारी राहत र क्षतिपूर्ति पुग्न सकेको छैन।

भोटेकोसी–त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो। तीन महिना बित्दा पनि पीडितले सरकारी निकायबाट राहत पाउन नसकेको बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधि बताउँछन्। यस अवधिमा सरकारले खोज तथा उद्धार, अस्थायी आश्रय, नगद राहत वितरण र बेपत्तालाई मृतक घोषणा गर्ने कानुनी तथा नीतिगत बाटो खुलाए पनि वास्तविक पीडितलाई पर्याप्त राहत र क्षतिपूर्ति दिन नसकेको रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए।

प्रचलित कानुनमा बेपत्ता भएको १२ वर्षपछि मात्र मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकाले यो अवधि छोट्याउन सरकारले असोज २३ गते ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३’ जारी गर्‍यो। अध्यादेशले बेपत्ता भएको ४५ दिनसम्म पनि फेला नपरेका मानिसलाई मृतक घोषणा गरी राहत दिन सकिने कानुनी बाटो खोलेको छ।

हालसम्म ४९ जिल्ला प्रशासन कार्यालयले भोटेकोसी–त्रिशूली बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न गृह मन्त्रालयसमक्ष सिफारिस पठाएका छन्। गृह मन्त्रालयले सोमबार मात्र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै बेपत्ताका हकदारलाई स्थानीय तहमार्फत शीघ्र राहत उपलब्ध गराउन निर्देशन दिएको एक अधिकारीले जानकारी दिए।

स्थानीय तहको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्को बैठकले सिफारिस स्वीकृत गरेपछि वडा कार्यालयबाट मृत्यु दर्ता र जिल्ला विपद् व्यवस्थापन कोषबाट एकै पटक मृतकका परिवारलाई राहत वितरण गरिनेछ। यसका लागि सात दिने सूचना जारी गरिएको छ। मापदण्डअनुसार मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने छ। एकै परिवारका दुई वा त्यसभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिइनेछ।

केन्द्रमा नीतिगत काम अन्तिम चरणमा पुगे पनि रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष तामाङले आफ्नो पालिकाका १५७ जना बेपत्ता भएको र उनीहरूका परिवारले अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरे। उनले बेपत्ताका सन्दर्भमा गाउँपालिकाबाट सिफारिस गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाए पनि अहिलेसम्म निर्णय नभएको बताए।

प्रमुख जिल्ला अधिकारीले केही दिनमा निर्णय गराउने जानकारी दिएको उनको भनाइ छ। बाढी प्रभावित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि सबैको गुनासो तामाङको जस्तै छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी–त्रिशूली बाढीमा ५१ जिल्लाका नागरिकको मृत्यु तथा बेपत्ता भएको विवरण छ।

हालसम्म १ हजार ४६४ वटा शव संकलन गरिएको छ। तीमध्ये १ हजार ३४४ वटा शव डिएनए परीक्षण तथा पहिचानका लागि जमिनमुनि सुरक्षित गाडिएको छ भने ११२ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ।

बाढीमा ५१ जिल्लाका ३ हजार ३०५ नागरिक बेपत्ता छन्। बाढीमा १९ देशका ६२३ जना बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ। बाढीबाट ७ हजार घर पूर्ण रूपमा ध्वस्त भएको अनुमान छ। बाढीपीडितलाई अस्थायी आवास र जीविकोपार्जन अनुदानको अवस्था हेर्दा चिन्ताजनक छ।

बाढीबाट विस्थापित भएका रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ७४५ घरधुरीका २ हजार ५८३ जना अहिले पनि अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य छन्। जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उनीहरूलाई न्यानो कपडा वितरण भइरहेको प्राधिकरणको भनाइ छ।

पीडित परिवारलाई अस्थायी आवास अनुदानका लागि गोरखा, धादिङ, नुवाकोट र रसुवाका स्थानीय तहले लाभग्राही कायम गरी सम्झौता गरेपछि पहिलो किस्ता २५ हजार र काम सुरु गरेपछि दोस्रो किस्ता २५ हजार गरी ५० हजार रुपैयाँ दिने प्रक्रिया अघि बढाइएको छ।

हालसम्म २ हजार ८८ घरधुरी लाभग्राही पहिचान भएकोमा १३८ घरधुरी स्वीकृत भइसकेका छन्। २ घरधुरी कोठा भाडाबापत मासिक १५ हजार रुपैयाँ पाउने प्रक्रियामा छन्। प्राधिकरणको विवरण अनुसार अहिलेसम्म सरकारी रकम एक रुपैयाँ पनि बाढी प्रभावित क्षेत्रमा गएको छैन। यसले सरकारी काम कति झन्झट छ भन्ने देखाउँछ। प्राधिकरणका एक अधिकारीका अनुसार कानुनी प्रक्रिया पुग्नैपर्ने नत्र बेरुजु आउने हुँदा चाहेर पनि राहत समयमा पु¥याउन कठिन छ।

प्राधिकरणका अनुसार आफ्नै जग्गा नभएकाले अर्काको जग्गामा सम्झौता गरेर अस्थायी आवास बनाउने विषय पनि त्यति प्रभावकारी भइराखेको छैन। भाडामा बस्ने भन्ने विषयमा अझै स्पष्टता नहुँदा कार्यान्वयन सुस्त छ। प्राधिकरणले भाडामा बस्नेलाई ६ महिनासम्म १५ हजार र अस्थायी आवास बनाउनेलाई ५० हजार रुपैयाँ दिने जनाएको छ।

प्राधिकरणका अनुसार ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१’ र मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न संघसंस्थाको बहुउद्देश्यीय नगद सहायतामार्फत ११ हजार ४२५ घरधुरीलाई २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ। यसअन्तर्गत अन्यत्र घर भएकालाई १५ हजार र कतै पनि घर नभएकालाई ४५ हजार गरी औसतमा २५ हजार रुपैयाँका दरले रकम बाँडिएको छ।

विपद् प्रतिकार्य, खोज तथा उद्धार र राहत सामग्री खरिदमा हालसम्म सरकारी कोषबाट ३७ करोड रुपैयाँ खर्च भइसकेको छ। संकटग्रस्त घोषित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ (जसमध्ये अतिप्रभावित रसुवा, नुवाकोट र धादिङलाई मात्र २ करोड ५० लाख) पठाइएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनालाई ९ करोड, नेपाल प्रहरीलाई ६ करोड र सशस्त्र प्रहरी बललाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको छ। प्राधिकरणका अनुसार ३७ करोडबाहेक हेलिकोप्टर उडानको करिब ३२ करोड रुपैयाँको छुट्टै बिलभुक्तानी हुँदैछ।

प्राधिकरणबाट प्राप्त जानकारी अनुसार उद्धार तथा राहत ढुवानीका लागि ५ हजार ६२ उडान हेलिकोप्टर परिचालन गरिएको थियो। उडानबापत नेपाली सेनाले करिब १८ करोड र निजी हेलिकोप्टर कम्पनीहरूले १४ करोड रुपैयाँ माग गर्दै प्राधिकरणमा बिल पेस गरेका छन्। बिल भुक्तानी हुने प्रक्रियामा छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (एनजिओ/आइएनजिओ) मार्फत राहत तथा सहयोग परिचालनअन्तर्गत ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ प्राप्त भएको प्राधिकरणले जनाएको छ। बाढीपछि सरकारी राहत कोषमा १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ जम्मा भएको छ।

प्रकाशित: १० मंसिर २०८३ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App