जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आज (शनिबार) रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार, आजरातिदेखि साउन ५ गते सोमबारसम्म अत्याधिक वर्षाको सम्भावना रहेकोले सुनकोशी नदी लगायत अन्य नदी किनार र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको हो।
प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा वि.पि. राजमार्ग तथा मध्यपहाडी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।
सवारी साधन चलाउँदा ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
साथै, प्रशासनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारण नागरिकलाई सहयोग गर्नसमेत अनुरोध गरेको छ ।
प्रकाशित: ३ श्रावण २०८२ २१:२३ शनिबार