समाज

पानीसँग सम्बन्ध बिग्रँदा सहरी डुबान

समाचार टिप्पणी

फाइल तस्वीर

वर्षा सुरु हुनासाथ काठमाडौंमा एउटा परिचित दृश्य दोहोरिन्छ। केही घण्टाको वर्षापछि तीनकुने, कोटेश्वर, माइतीघर, टेकु, अनामनगर, बालाजु, सामाखुसी, कलंकीलगायत अन्य कैयौं सडक जलमग्न हुन्छन्। गाडीहरू पानीमै रोकिन्छन्, पसलभित्र पानी पस्छ, घरका भुइँतला डुब्छन् र हजारौं मानिस घण्टौं सडकमै अलपत्र पर्छन्। त्यसपछि प्रश्न उठ्छ– के यसपटक धेरै वर्षा भयो ? तर यो धेरै हदसम्म सही होइन, सही प्रश्न भनेको काठमाडौं किन सामान्य वर्षा पनि थेग्न नसक्ने सहर बन्दै गएको छ भन्ने हो।

त्यसो त वर्षालाई दोष दिन सजिलो छ तर सहरी डुबानसम्बन्धी विश्वव्यापी अध्ययनहरूले फरक कुरा भन्छन्। वर्षाले डुबानको सुरुआत गर्न सक्छ तर त्यसलाई विपत्तिमा बदल्ने काम सहरको बनोट, भूमि उपयोग, जलनिकास प्रणाली र सहरी शासन प्रक्रियाले गर्छ। अर्थात् वर्षा प्राकृतिक घटना हो तर सहरी डुबान धेरै हदसम्म मानवनिर्मित संकट हो।

काठमाडौंमा अहिले देखिने अधिकांश डुबान नदी र खोलामा आएको बाढीले गर्दा भएको होइन। यो सतही वर्षाजन्य डुबान (प्लुभियल फ्लडिङ) हो। त्यो भनेको आकाशबाट परेको पानीलाई जमिनले सोस्न नसक्ने र नालाले बगाउन नसक्ने अवस्था हो। पानी खोलाबाट उर्लेर सडकमा आएको होइन।

सडक आफैं अस्थायी खोला बनेको हो। यसलाई बुझ्न काठमाडौंको पुरानो स्वरूप सम्झनुपर्छ। कुनै समय उपत्यका धान खेत, पोखरी, सिमसार, खुला जमिन र साना खोल्साले भरिभराउ थियो। ती सबैले पानी सोस्ने र धारण गर्ने ‘प्राकृतिक स्पन्ज’को काम गर्थे। यो प्रणालीअन्तर्गत वर्षाको पानी एकैचोटि नदीमा पुग्नुको साटो केही समय रोकिन्थ्यो, जमिनभित्र सोसिने अवसर हुन्थ्यो र बिस्तारै खोलानालामा जान्थ्यो। यसरी प्रकृतिले आफैं बाढीको जोखिम घटाउँथ्यो र भूमिगत पानीको तहमा पुनर्भरण पनि हुन्थ्यो।

तर पछिल्ला केही दशकमा विकासका नाममा हामीले यही प्राकृतिक प्रणालीलाई क्रमशः ध्वस्त पार्‍यौं। राजधानीका उर्वर खेत कंक्रिटले ढाकिए, पोखरी पुरिए, सिमसारमा बस्ती बस्यो, खुला जमिन पार्किङ र भवनमा परिणत भयो। आज वर्षाको पानीलाई जमिनले भेट्दैन। कंक्रिट, कालोपत्रे सडक र टायलले ढाकिएको सतहबाट सबै पानी एकैचोटि नालातर्फ कुद्छ। पहिले माटोले सोस्ने पानी अहिले केही मिनेटमै सडक र घरघरमा बग्न थाल्छ। यही कारण आज सामान्य वर्षाले पनि असामान्य डुबान निम्त्याइरहेको छ।

सहरी पारिस्थितिकीका विज्ञहरूले यसलाई ‘स्पन्ज गुमाएको सहर’ भन्छन्। सहर भनेको भवन र सडकको मात्र समुच्चय होइन। यो माटो, पानी, वनस्पति, नदी, सिमसार र मानिसबिचको जीवित प्रणाली हो। यस प्रणालीबाट पानी सोस्ने प्राकृतिक अवयव हामीले हटाएका कारण सहरले आफ्नो लचकता गुमाएको छ।

कतिपयले अझ ठुलो नाला बनाइदिए समस्या समाधान हुन्थ्यो भन्ने ठान्छन् तर समस्या केवल नालाको आकार होइन। काठमाडौंका अधिकांश जलनिकास संरचना अहिलेको जनसंख्या, कंक्रिट विस्तार र वर्षाको स्वरूपलाई ध्यानमा राखेर बनाइएका छैनन्। त्यसमाथि वर्षाको पानीका लागि बनाइएका नालामा जथाभाबी ढल जोड्ने, प्लास्टिक र निर्माणजन्य फोहोर फाल्ने तथा प्राकृतिक खोल्सा पुरिदिने प्रवृत्तिले निकास प्रणाली झन् कमजोर बनेको छ। पानीको आफ्नै बाटो हुन्छ र त्यो बाटो बन्द गर्दा त्यसले अर्को बाटो खोज्छ र त्यो प्रायः सडक र बस्ती भएर जान्छ।

नदीलाई आवश्यक पर्ने प्राकृतिक बहाव क्षेत्र वर्षौं यता अतिक्रमण र अव्यवस्थित निर्माणले अहिले साँघुरिएको छ। नदीमा बालुवा र फोहोर थुप्रिएर सतह उक्लिएको छ। फैलिनुपर्ने ठाउँ खोसिएपछि वर्षायाममा पानीले सडक र बस्तीलाई नै आफ्नो मार्ग बनाउनु स्वाभाविक हुन्छ। वास्तवमा हामीले नदीको ठाउँमा सहर बनाएका छौं, अहिले नदीले आफ्नो ठाउँ फिर्ता खोजिरहेको छ। यसमा जलवायु परिवर्तनले थप चुनौती थपेको छ।

अहिले मौसमको चरित्र बदलिँदै छ। पहिले दिनभरि पर्ने वर्षाको सट्टा छोटो अवधिमा अत्यधिक वर्षा हुने घटना बढिरहेका छन्। केही घण्टामै ठुलो मात्रामा पानी पर्दा सहरसँग त्यसलाई सम्हाल्ने प्राकृतिक क्षमता नभएको अवस्थामा डुबान अपरिहार्य हुन्छ। त्यसैले जलवायु परिवर्तनलाई दोष दिनुअघि हामीले स्वीकार गर्नुपर्छ, अव्यवस्थित सहरीकरणले हामीले धेरै गुणाले जोखिम बढाएका छौं।

त्यसो त यो समस्या केवल इन्जिनियरिङको मात्र होइन, यो शासन प्रक्रियाको पनि हो। सडक विभागले एउटा योजना बनाउँछ, स्थानीय तहले अर्को निर्णय गर्छ, खानेपानी निकायले नालामा ढल जोड्छ, नदी व्यवस्थापन अर्को संस्थाले गर्छ। काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै योजना बनाउँछन्। तर पानीले प्रशासनिक सीमा मान्दैन। पानी भूआकृति र जलाधारअनुसार बग्छ। त्यसैले विज्ञ तर्क गर्छन, उपत्यकालाई एउटै जल प्रणालीका रूपमा नहेरी सहरी डुबान नियन्त्रण सम्भव छैन।

विश्वका धेरै सहरले अहिले यही पाठ सिकिसकेका छन्। चीनले एक दशकअघि ‘स्पन्ज सिटी’ कार्यक्रम सुरु गर्दै वर्षाको ठुलो हिस्सा सहरभित्रै सुरक्षित रूपमा सोस्ने लक्ष्य लियो। अहिले ३० सहर स्पन्ज सिटी बनेका छन्। यस्तै सिंगापुरले आफ्नो ‘एबिसी वाटर्स प्रोग्राम’मार्फत नहरलाई हरियाली र सार्वजनिक खुला स्थानसँग जोड्दै पानीलाई प्राकृतिक ढंगले व्यवस्थापन गर्ने नीति अपनायो। समुद्री सतहभन्दा तलको नेदरल्यान्ड्सको रोटरडम सहरले वर्षा हुँदा पानी थाम्ने र अरू बेला सार्वजनिक चोकका रूपमा प्रयोग हुने ‘वाटर स्क्वायर’ निर्माण गरेको छ। डेनमार्कको कोपनहेगनले अत्यधिक वर्षालाई ध्यानमा राखेर सडक, पार्क र खुला क्षेत्रलाई नै अस्थायी जलनिकास मार्गका रूपमा पुनः डिजाइन गरिरहेको छ। यी सबै सहरहरूको साझा मान्यता छ– पानीसँग लड्ने होइन, पानीलाई ठाउँ दिने हो।

काठमाडौंका लागि पनि यही सोच अब अपरिहार्य छ। विज्ञका अनुसार पुरिएका पोखरी र खोल्साको पुनर्जीवन, सिमसार संरक्षण, नदीको वैज्ञानिक बहाव क्षेत्र पुनःस्थापना, वर्षाको पानी र ढलका छुट्टाछुट्टै प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ। भवन निर्माणमा वर्षा पानी संकलन र भूजल पुनर्भरण अनिवार्य बनाउने नीति, खुला हरियाली विस्तार र तीन वटै महानगरबिच एकीकृत जलाधार व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता हो।

दोहोर्‍याएर भन्नुपर्ने सत्य के हो भने काठमाडौंको डुबान मौसमी कथा मात्र होइन। यो सहरी विकासको कथा हो। हामीले कंक्रिटको विस्तारलाई विकास ठान्यौं, प्रकृतिलाई सहरबाट हटाउँदै गयौं तर पानीले हामीलाई बारम्बार सम्झाउने गरेको छ, सहरबाट प्रकृतिलाई हटाउन सकिए पनि प्रकृतिको नियम हटाउन सकिँदैन। त्यसैले अबको प्रश्न सहरलाई पानीसँगको सहअस्तित्वमा कसरी बाँच्न सिकाउने भन्ने हो। यही प्रश्नको उत्तरले आगामी दशकमा काठमाडौं जलवायु परिवर्तनसँग जुध्न सक्ने सहर बन्छ कि हरेक मनसुनमा आफ्नै विकासको मूल्य चुकाउने सहर बन्छ भन्ने निर्धारण गर्ने छ।

प्रकाशित: ३१ असार २०८३ ०७:३५ बुधबार