समाज

माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव नौ किलाेमिटर सडक

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका मुख्य प्रभाव क्षेत्र रहेको माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले पालिकाको वडा नम्बर ४ स्थित फुङफुङ्गे झरनादेखि वडा नम्बर ५ सिम्बुकसम्म पुग्ने ९ किलोमिटर मोटरबाटो बनाईदिएको छ ।  

सौर्य होल्डिङ प्रालिद्वारा प्रवर्धित ३१.९२ मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाले २०८१ साल माघ २ गतेदेखि मोटरेवल सडक खन्न सुरु गरी २०८२ सालको भदौ ११ गते फुङफुङ्गे झरनादेखि दलैंचा हुदै वडा नम्बर ५ को सिम्वुकसम्म जोडेको आयोजनाका प्रवन्धक कल्याण गौतमले जानकारी दिए ।  

भौगोलिक र दुरीका हिसावले दुर्गम मानिएको उक्त क्षेत्रमा सडक निर्माण कार्य पूरा भएपछि जलविद्युत आयोजनाले मोटरेवल सडक निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ । ६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीनवर्ष भित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा गत जेठ अन्तिम सातामात्र हस्ताक्षर भइसकेको छ ।  

सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । कुल लागतमध्ये बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । 

प्रकाशित: १२ भाद्र २०८२ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App