म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो।
रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको ग्र्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिए।
‘दग्नाममा विसं २०७४ मा सडकले जोडिएपछि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट हालसम्मकै बढी रु तीन करोड बजेट बिनियोजन भएको थियो’ , उनले भने, ‘स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीले ठेक्कामार्फत योजना सम्पन्न गरेपछि आवतजावत सहज र सुरक्षित भएको छ।’
दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दाहरु लाभान्वित भएका छन् । अप्ठ्यारो ठाउँमा सडक फराकिलो पार्ने, पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार तथा ढलान गरिएको छ।
उक्त योजना निर्माणका लागि गत माघ १४ गते दुप्चेश्वर सुभम् विल्डर्सले रु दुई करोड ३९ लाख ९९ हजार चार सय १३ मा ठेक्का सम्झौता गरेको थियो। यही असार २० गतेसम्मको ठेक्काको म्याद रहे पनि गत जेठ २६ गते योजना सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए।
इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत आफूले पाएको जिम्मेवारी समयअगावै सम्पन्न गरेको उनले बताए । कार्कीका अनुसार औरी, दवाङभिरमुनि र दग्नाम गाउँभित्र ९०० मिटर ढलान गरिएको छ।
दग्नामको मुख्य गाउँभित्रको सबै सडक ढलान भएको छ। सडक पक्की बनेपछि दग्नाम गाउँ चिटिक्क देखिएको छ। धुलो र हिलोको समस्या समाधान हुनुका साथै यात्रा सहज र सुरक्षित भएको स्थानीय धनीलाल गर्बुजाले बताए । दग्नाम खोलामा कजवे र तीन ठाउँका खोल्सामा ह्युम पाइप राखिएको छ।
मौवाफाँट–दग्नाम–चिमखोला–घ्याँसीखर्क सडकको मौवाफाँट, बुक्ल, दग्नाम पहिरो, चिमखोला क्षेत्रमा गत वर्ष दुई वर्ष शीर्षकका योजनामार्फत स्तरोन्नति भएको थियो। रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई जोड्ने यो सडक जिल्लाको प्राथमिकताप्राप्त आयोजना हो।
प्रकाशित: ९ असार २०८३ ०६:२९ मंगलबार



